काठमाडौं । जेन–जी घटना जाँचबुझ आयोगले तीन जना उच्च पदस्थ अधिकारीमाथि लगाइएको विदेश भ्रमण तथा स्थान हदको रोक फुकुवा गरेको छ।
आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाललाई लगाइएको प्रतिबन्ध सोमबार फुकुवा गर्ने निर्णय गरेको हो।
आयोगद्वारा जारी विज्ञप्तिमा आयोगको स्वीकृतिविना विदेश भ्रमण गर्न नपाउने र काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था हटाइएको उल्लेख गरिएको छ।
भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ तथा छानबिनका क्रममा अनुसन्धान प्रयोजनका लागि भन्दै आयोगले यसअघि उनीहरू तीनैजनामाथि विदेश भ्रमणमा रोक लगाएको थियो भने स्थान हद पनि तोकेको थियो।
आयोगका अनुसार तीनै जनासँग आवश्यक बयान लिइसकिएको र प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा भइसकेपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको हो।











