८ पुष २०८२, मंगलवार
,
Latest
एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास



अ+ अ-

कञ्चनपुर। शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बन्तरिया शिविरका बाढीपीडित परिवार समस्यामा परेका छन् ।

हिउँदको सिरेटो सिधै छिर्ने कच्ची झुपडीमा बस्दै आएका यी परिवारलाई अहिले ओढ्ने–ओछ्याउने न्यानो कपडाको चरम अभाव भएको छ । कठ्याङ्ग्रिँदो चिसोबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने चिन्ताले बाढीपीडितलाई पिरोल्न थालेको छ ।

डेढ दशकदेखि वनक्षेत्रमा अस्थायी बसोबास गर्दै आएका १९ परिवारका लागि यो हिउँद निकै कष्टकर बनेको ७० वर्षीय वासुदेव रानाले बताउनुभयो । “अत्यधिक चिसो हुन थालेपछि रातिका बेला निद्रासमेत पर्न छाडेको छ”, उहाँले भन्नुभयो, “मुटु कमाउने चिसो छ, न हामीसँग चिसो छेक्ने न्यानो लुगा छ, न त राम्रो ओछ्यान नै ।”

झुपडीमा बालबालिका र बूढापाकालाई चिसोबाट जोगाउन आगो बालेर रात काट्नुपर्ने बाध्यता रहेको उहाँले दुखेसो पोख्नुभयो । शिविरमा बस्ने सबै परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

मजदुरीबाट आएको न्यून रकमले साँझबिहानको छाक टार्नै मुस्किल हुने भएकाले न्यानो कपडाको जोहो गर्न नसकिएको महादेव रानाले बताउनुभयो । दातृ निकायलाई न्यानो कपडाको व्यवस्था गरिदिन आग्रह गरे पनि हालसम्म कुनै पनि निकायबाट सहयोग नपाउँदा आगो तापेर चिसो कटाउनुपरेको उहाँले उल्लेख गर्नुभयो ।

शिविरका राजकुमार राना भन्नुहुन्छ, “गणतन्त्र आएपछि कोही भोको र नाङ्गो हुनु पर्दैन भन्ने नारा सुने पनि हाम्रो हकमा त्यो नारा केवल नारामा मात्र सीमित भएको छ ।” बाढीबाट विस्थापित भएर झण्डै डेढ दशकदेखि वन छेउको शिविरमा कष्टपूर्ण जीवन बिताउँदासमेत कुनै पनि निकायले सोधखोज नगरेको उहाँको गुनासो छ ।

विसं २०६४ मा वनहरा नदीमा आएको भीषण बाढीले घरजग्गा सबै बगाएपछि यी परिवार सुकुम्बासी बनेका हुन् । साविक देखतभूली गाविसमा रहेको घरजग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि उनीहरू शिविरमा बस्न बाध्य भएका हुन् ।

आफ्नो स्वामित्वमा रहेको जग्गा बगर बनेपछि मालिकबाट मजदुर बनेका यी परिवार यतिबेला प्रकृति र राज्य दुवैको उपेक्षामा परेका छन् ।रासस