८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० लाखले गरे पशुपतिनाथ दर्शन



अ+ अ-

काठमाडौं । जोरपाटी निवासी ओखलढुंगाका डिल्लीबहादुर रोक्का क्षेत्रीले महाशिवरात्रिमा २५ वर्षपछि पशुपतिनाथ मन्दिरमा सहज रूपमा दर्शन गर्न पाए। ‘पहिला हामीलाई हुत्याउँथे, लडाइदिएको अनुभव पनि छ’, पोलियोका कारण दुवै खुट्टा घिसार्दै पशुपति आएका ५० वर्षीय क्षेत्रीले भने, ‘पहिलो पटक धेरै कुरामा व्यवस्थित भएको पाएँ।’

पाशुपत क्षेत्रको बाहिरी मात्र होइन, मन्दिर परिसर पनि यसपटक व्यवस्थित देखिन्थ्यो। विगतमा पश्चिम ढोकाबाटै छिर्ने भेटिन्थे, यसपटक बाहिरिनेलाई पनि प्रहरी र स्काउट टोलीले दुवैतर्फ लाइन लागेर परसम्म निगरानी गरिरहेका थिए। भक्तजन जुन लाइनबाट मन्दिर पुग्थे उही लाइनबाट फर्किने व्यवस्था थियो। ‘विगतमा पहुँचवाला र चलाख व्यक्तिले घुसघास र शक्ति देखाएर लाइनबिनै मन्दिर पसी दिनभर भीडभाड गर्थे’, पशुपति क्षेत्र विकास कोषका कर्मचारी गोकर्णप्रसाद पौडेलले भने, ‘२७ वर्षका शिवरात्रिमा यत्तिको व्यवस्थित कहिल्यै महसुस भएन।’

सुकेधाराकी सावित्री काफ्ले जयवागेश्वरीबाट लाइनमा बसिन्। अढाई घण्टामा दर्शन गर्न पाएको उनले सुनाइन्। तिलगंगाबाट लाइनमा बसेकी सातदोबाटोकी रश्मिला केसीले भने बिहान ५ बजेदेखि लाइन बसे पनि अढाई बज्दासम्म दर्शन गर्न पाएकी थिइनन्। उनीभन्दा पाँच जना अगाडि रहेका भक्तपुर सूर्यविनायकका उमेश कार्कीले भने, ‘तीन घण्टामा दक्षिण ढोका आइपुग्यौं, पहिला त नौ घण्टासम्म लाइन लागेको थिएँ।’ कोषका सदस्यसचिव डा। प्रदीप ढकालले दुईदेखि तीन घण्टामा दर्शन गर्ने व्यवस्था मिलाइएको दाबी गरे।

भारतीय भक्तजन पनि दर्जनौं बस र साना गाडी रिजर्भ गरी आएको कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाले बताए। ‘यसपटक फूलको सजावटले आकर्षण बढायो’, उनले भने, ‘१० लाखभन्दा बढी भक्तजन मन्दिरभित्र र बाहिर आएका छन्।’

झन्डै २ करोड रुपैयाँको फूलले पाशुपत क्षेत्र झिलिमिली बनाइएको थियो। भारतीय नागरिक सञ्जीव छिब्बर र केके शर्माले २ सय जनशक्ति परिचालन गरी अस्टे«लिया, कोरिया, थाइल्यान्ड र भारतबाट फूल ल्याएका थिए।

मलेसियाबाट आइपुगेका मकवानपुरका प्रदीप नेपाल सजावट देखेर दंग थिए। यस्तो व्यवस्थापन निरन्तर हुनुपर्ने उनले बताए। फूलबाट प्रवेशद्वार, मयुर, स्वस्तिक, शिवलिंग, नन्दी, त्रिशूल आदि बनाइएको थियो। मूल मन्दिर प्रवेशद्वारमा गणेश र कुमारको आकृति छ भने मन्दिर परिसरका मठमन्दिरमा फूलले विभिन्न आकृतिमा सजाइएको छ। बसाहालाई झकिझकाउ बनाइएको छ। ‘फूलका आकृतिमा पहिलो पटक गज्जबका फोटा खिच्न पाएँ’, कलंकी निवासी आकृति थापाले भनिन्।

राम मन्दिर र आर्यघाटबाट गुह्यश्वरी जाने बाटो र आसपासमा गाँजा किनबेच गर्नेको संख्या कम देखियो। बिहीबार साधुसन्तबाट गाँजा खोसेर धुनीमा हालिएको सदस्यसचिव ढकालले सुनाए। ‘नागाबाबा पनि यसपटक सभ्य देखिए’, बोडेकी निर्मला श्रेष्ठले भनिन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा अपराह्न ४ बजे पशुपतिनाथको दर्शन र पूजा गरिन्। कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले उपराष्ट्रपति नन्दबहादुर पुनको आगमन पनि एकै समय भएको बताए। ‘आउने र जाने सँगसँगै भएकाले भक्तजनले कुर्नुपरेन’, उनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शिवरात्रिका हरेक पक्ष व्यवस्थित बनाउन निर्देशन दिएका थिए। उनी बिहीबार साँझ र शुक्रबार बिहान र बेलुकी गरी तीनपटक पाशुपत क्षेत्र पुगेर लाइन, भोजन, स्वास्थ्य सेवा, प्रसाद र चन्दन वितरणजस्ता विषयमा निरीक्षण गरी गुणस्तरीय सेवा दिन भनेका थिए। फूलको सजावटका कारण बिहीबार झन्डै २ लाख भक्तजन पशुपति पुगेको खतिवडाको भनाइ छ। महाशिवरात्रिकै अवसरमा टुँडिखेलमा नेपाली सेना दिवस मनाइएको थियो।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।