लहान । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका छ भन्दा वढी घरबाट करिब २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ । भारतीय सीमा जोडिएको सो गाउँपालिकाको गाउँमा गएराती आएका चोरको समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादवलगायतको घरबाट धनमाल चोरी गरेको स्थानीयवासी अशोककुमार यादवले जानकारी दिए ।
नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको जनाइएको छ । अशोककुमार यादवले भने, “राति कतिबेला कतिको सङ्ख्यामा चोर आएका थिए, कसैले थाहा पाएनन्, बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए । ”
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केसरीले चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिए ।