काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङको आयोजनामा नक्सालमा शिल्पकला तथा डिजाइन सङ्कायका विद्यार्थीहरूद्वारा कार्यशालामा सिर्जित कलाकृति प्रदर्शनी सुरु भएको छ ।
‘रि–इम्याजिन ट्रेडिसन–२’ शीर्षकमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आजको विद्यार्थी पुस्ता नै भोलिका देशको हरेक क्षेत्रमा नेतृत्व गर्ने पुस्ता भएको बताउँदै सिर्जनशीलतामा लाग्न आह्वान गर्नुभयो ।
विषयवस्तु, शिल्पअवधारणा र सिर्जनाको बौद्धिक अभ्यास साधनाका अर्थले महत्त्वपूर्ण रहेको बताउँदै उहाँले भावुकता, बौद्धिकता, प्राज्ञिकताको सामञ्जस्यबाट ज्ञानको निर्माण हुने बताउनुभयो ।
औद्योगिक डिजाइनर माइक कारझेइकले यो प्रदर्शनी नितान्त विद्यार्थीहरूको स्वसिर्जना भएकाले विशेष रहेको बताउनुभयो । साथै उहाँले प्रदर्शनीमा भौतिक र अभौतिक सम्पदा, संस्कृति झल्किने हस्तकलाका कलाकृति रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डिपार्टमेन्ट अफ आर्ट एन्ड डिजाइनका प्रमुख सागर मानन्धरले रैथाने शिल्प–हस्तकलाको ज्ञानलाई समाजमा विस्तार गर्न पाठ्यक्रम नै लागू गरेर जानुपर्ने बताउनुभयो । साथै उहाँले आगामी दिनमा प्रतिष्ठानसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्य एवं काठमाडौँ काठमाडौँ विश्वविद्यालय स्कुल अफ आट्र्स र स्कुल अफ इन्जिनियरिङका अध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । रासस










