काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ(एनआरएनए)लाई राजनितिक दलको नबनाउन आग्रह गर्नुभएको छ ।
आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताउनुभएको हो ।
उहाँले एनआरएनएका अभियन्ताहरु राजनितिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताउनु भयो । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उहाँको भनाई छ । उहाँले एनआरएनएलाई राजनीतिक दल र राजनितिमुक्त बनाउने अवसर यही भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, सम्मान यहाँहरुले कायम गनुभएको थियो । पछिल्ला वर्षहरुम त्यो खस्किदै गयो । त्यो किन खस्कियो भन्दाखेरी एनआरएनएका अधिकांश नेता र अधिकांश गुटहरु राजनितिक दलका गुट र नेता भए । फलानो राजनितिक दलका एनआरएन, फलानो राजनितिक दलका एनआरएन भयो । तपाईहरु चोइटिनु भयो, तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । अब एउटा ठूलो अवसर आएको छ । पार्टीको एनआरएन नबनाईदिनुहोला । एनआरएनएलाई समग्र गैरआवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला । पार्टीभन्दामाथी तपाईहरु उठ्दिनुभयो भने त्यो सम्भव छ ।’
उहाँले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था, गैरआवासीय नेपाली नागरिकत्ता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भिर रहेको पनि बताउनु भयो ।










