काठमाडौँ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय सचिव केशव कुमार शर्माले खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकिएको बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा उहाँले राष्ट्रिय राजमार्गका १ करोडमाथिको शिर्षकका बजेट रोकिएको जानकारी दिनुभयो । उहाँले खर्च कटौतीले सबैभन्दा बढी साना सहायक सडकहरु परेको बताउनु भयो । खर्च कटौतीको कारणले २० अर्व रुपैयाँ रोकिएको उहाँको भनाई छ ।
उहाँले ३ करोड रुपैयाँ भन्दा कमका योजना रोकिने भएकोले राष्ट्रिय राजमार्ग कै रकम पनि रोकिएको कारण समस्या भएको बताउनु भयो । राष्ट्रिय राजमार्गमा १ करोडमा हुने कामलाई ३ करोड बजेट छुट्याउन नमिल्ने उहाँको भनाई छ । यस विषयमा अर्थमन्त्रालयमा पटक पटक छलफल गरिएकोपछि एक करोड रुपैयाँ माथिका राष्ट्रिय राजमार्गका आयोजनाहरुको रकम फुकुवा गर्ने सहमति भएको जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवका आयोजना समेत बजेट एकमुष्ठ रोकिएकोले केही समय आयोजना कार्यान्यवयनको गतिमा समस्या परेको उहाँको भनाई छ । उहाँका अनुसार सडक विभागको पुँजीगत खर्चको प्रगति ९ दशमलब ६७ प्रतिशत रहेको छ । यातयात व्यवस्था विभाग र रेल विभागको प्रगति भने झनै कम रहेको उहाँले जानकारी दिनुभयो । जेन—जी आन्दोलनका कारण विभागको कार्यलयमा क्षति हुँदा काम गर्न नसकिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,‘खर्च कटौतीको कारणले २० अर्ब रोकिएको छ । सफ्टवेयरमा ३ करोड रुपैयाँ भन्दा सानो रोकिने भनेको कारणले होला राष्ट्रिय राजमार्ग कै रकम पनि खुलेको छैन । यी सबै कुराहरुमा हामीले पटक पटक अर्थमन्त्रालयमा छलफल गरिरहेका छौँ । राष्ट्रिय राजमार्गमा १ करोडमा हुने कामलाई ३ करोड बजेट छुट्याएर त हुँदैन नी । त्यसकारण एक करोड रुपैयाँ माथीका राष्ट्रिय राजमार्गका आयोजनाहरुको रकम फुकुवा गर्ने सहमति भएको छ । राष्ट्रिय गौरवका आयोजना समेत बजेट एकमुष्ठ रोकिएकोले केही समय हाम्रो आयोजनाका कार्यन्यवयनको गतिमा अहिले समस्या परेको छ । रेल विभागको पुर्वपश्चिम विधुतीय रेलमार्गको ठेक्का व्यवस्थापन भएकोमा जग्गाप्राप्तीको निर्णय गर्न नसकेको कारण समस्या भएको छ ।’
उहाँले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा दुई लेन कालोपत्रे १२९ किलोमिटर, ४ लेन वा सोभन्दा बढीको कालोपत्रे ७ किलोमिटर, ग्राभेल सडक निर्माण ३३ किलोमिटर र नयाँ ट्रयाक २७ किलोमिटर निर्माण भएको जानकारी दिनुभयो । ७ वटा पुलहरु निर्माण भएका छन् भने रेल विभागको ट्रयाकवेल निर्माण ३०० मिटर भएको छ । उहाँले शुरुको त्रैमासिक धेरै प्रक्रिया मात्रै मिलाउने भएकोले खर्च कम भएको बताउनुभयो । उहाँले सुरक्षण मुद्रण केन्द्र मार्फत सवारी चालक अनुमतिपत्र छपाई कार्य शुरु भएको पनि जानकारी दिनुभयो । केही समयपछि विभागबाट पनि छाप्ने तयारी रहेको उहाँको भनाई छ ।










