२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपहाडी राजमार्गमा मौसमको प्रभाव



अ+ अ-

काठमाडौँ । फागुन महिनामा मौसममा आएको परिवर्तनका कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न मुस्किल पर्ने देखिएको छ । नेपाल सरकारकै बजेटमा निर्माण भइरहेको एक हजार ८७९ किमी राजमार्गमा चालू आर्थिक वर्षमा ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य थियो ।

आवसँगै चाडबाड एवं त्यसपछि चिसो मौसमका कारण ५० किमी पनि कालोपत्र नसकिएको राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक दीपक केसीले राससलाई जानकारी दिनुभयो । “फागुनमा कालोपत्र गतिका साथ अघि बढाउने लक्ष्य थियो, यो महिनामा पटकपटक पानी परेकाले काममा गति दिन सकिएको छैन, चैत र वैशाखमा १००/१०० किमी कालोपत्र गर्न सकियो भने ३५० किमी कालोपत्रको लक्ष्य पूरा हुन सक्छ”, उहाँले भन्नुभयो ।

चालू आवको लक्ष्यअनुसार १६ पुलमध्ये आठ पुलको काम सकिएको छ । पुलको काम चिसो मौसममा पनि गर्न सकिने भएकाले लक्ष्यअनुसार नै काम हुने आयोजना निर्देशक केसीले बताउनुभयो । राजमार्गका लागि कालोपत्र भइसकेको ४६२ किमी सडक पुरानै लिइएको थियो । मध्यपहाडीमा कोरोनाको प्रभाव नदेखिए पनि मौसमका कारण यस वर्षको लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ ।

तयारी अवस्थामा लिइएको ४६२ किमीसमेत हालसम्म करिब ८५० किमी यो राजमार्गको सडक कालोपत्र भइसकेको छ । आव २०७९/८० सम्म राजमार्गको काम सक्ने सरकारको लक्ष्य छ । आयोजनामा आव २०७५/७६ देखि पाँच स्थानमा योजना कार्यालय स्थापना गरी कामलाई गति दिइएको जनाइएको छ ।

आयोजना शुरु हुँदा एक हजार ७०० किमी दूरीको काम अघि बढाइएकामा सुनकोशी र बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण ‘एलाइनमेन्ट’ परिवर्तन गरिएको थियो । आव २०६४/६५ देखि शुरु भएको राष्ट्रिय गौरवको यो आयोजनामा हालसम्म रु ४० अर्ब खर्च भइसकेको छ । रु ८४ अर्ब ३३ करोड लागत अनुमान गरिएको आयोजनामा चालू आवमा रु १२ अर्ब बजेट विनियोजन भएको छ । त्यसमध्ये रु तीन अर्ब खर्च भइसकेको आयोजना निर्देशक केसीले जानकारी गराउनुभयो ।

पाँचथरको फिदिम, काभ्रेपलाञ्चोकको धुलिखेल, गोरखाको पालुङटार, पर्वतको कुस्मा र दैलेखमा गरी पाँच स्थानमा २०७५ पुसदेखि योजना कार्यालय स्थापना गरिएको हो । बोलपत्र गर्नेदेखि निर्माण व्यवसायीसँग सम्झौता गरी कार्यान्वयनमा लैजाने जिम्मेवारी योजना कार्यालयलाई नै दिइएको छ ।

आयोजना निर्देशनालयले भने अनुगमन र समन्वयको काम गरिरहेको छ । त्यसअघि पूर्व र पश्चिम खण्डका रुपमा आयोजनाका दुई कार्यालय थिए । पाँचथरको चियो भञ्ज्याङबाट शुरु हुने राजमार्ग बैतडीको झुलाघाटमा गएर टुङ्गिन्छ । राजमार्गले मध्यपहाडी क्षेत्रका २६ जिल्लालाई छुन्छ । सडकको ट्र्याक भने खुलिसकेको निर्देशनालयले जनाएको छ ।