काठमाडौं । महाधिवेशनको कार्यतालिकालाई लिएर तीव्र बिवाद भइरहेका बेला नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । केन्द्रीय समिति बैठक यसअघि पटकपटक स्थगित हुँदै आएको थियो ।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन ।
महाधिवेशनका सम्बन्धमा दुई प्रस्ताव पेस भएका छन्, जसलाई मिलाउने प्रयास भइरहेको छ ।
पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन पदाधिकारीहरू छलफल गरिरहेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गर्न मध्यमार्गी बाटोबाट सहमति जुटाउने प्रयासमा लागेका हुन् ।
कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसैदिन थापाको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् ।
महामन्त्री थापाको प्रस्तावलाई इतर समूहले र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि विवाद चर्किएको छ । केही नेताहरूले दुवै प्रस्तावलाई मिलाएर मध्यमार्गी प्रस्ताव ल्याइ विवाद समाधान गर्न प्रयास गरिरहेका छन् ।










