२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

टोकियो डोममा दोस्रो पटक नेपथ्य

टोकियो डोममा दोस्रो पटक नेपथ्य
अ अ+ अ-

टोकियो:  गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो । झिलिमिली बत्ती र दर्शकको चिच्याहटबाट स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले –

‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने’

कन्सर्ट सुरु हुनुभन्दा आधा घण्टा पहिल्यै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ भरिभराउ थियो । जब नेपालीपन बोकेको गीतसँगै मङ्गलबार बेलुकी रक कन्सर्ट सुरु भयो, हलमा हलचल मच्चियो ।

नेपथ्यले हिमपातको प्रभावसाथ प्रस्तुत गरेको ‘भेडाको ऊनजस्तो’ ले हलभित्रको तरङ्गलाई अर्को उचाइ दियो । त्यसपछि आफ्नो सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउँदासम्म ब्यान्डले माहोलमा कब्जा जमाइसकेको देखिन्थ्यो ।

‘कामको बोझले थिचिएको यहाँको व्यस्त जीवनबीच मभित्र जम्दै गएको छटपटीलाई निकास दिने यो नै सर्वोत्तम ओखती थियो,’ तनहुँको बन्दीपुरबाट तीन वर्षअघि जापान आएकी सोनिका गुरुङ भनिरहेकी थिइन्, ‘अनुशासनबद्ध प्रस्तुति र देशभक्तिको भावनाले भरिएको नेपथ्य कन्सर्टले पूर्ण सन्तुष्टि दिएको छ ।’

जापानकै प्रसिद्ध यस हलमा नेपथ्यले सात वर्षपछि दोस्रो प्रस्तुति दिएको हो । यस सहरमा भने दुई वर्षअघि पनि ब्यान्डको कन्सर्ट थियो । नेपथ्यका लागि प्रारम्भका दिनका अवसरदेखि लिएर ब्यान्ड विघटनसम्मका थुप्रै तितामिठा घटनाको साक्षी हो टोकियो । नेपथ्यले मुलुकबाहिर सबैभन्दा धेरै कन्सर्ट गरेको सहरमध्ये पनि पर्छ यो ।

मङ्गलबारको कन्सर्टमा रोजगारीका लागि मात्रै नभई पढ्नका निम्ति आएका विद्यार्थीको पनि उल्लेख्य उपस्थिति थियो । तिनैमध्ये एक थिए जापानी विद्यालयमा प्लस टु पढिरहेका १७ वर्षीय विवेक कँडेल । उनी आठ वर्षपहिले अभिभावकका साथ बागलुङको गलकोटबाट यता आएका रहेछन् ।

‘साथीहरूबाट चर्चा सुनेपछि हेर्न आएको हुँ,’ विवेकले भने, ‘गायकले मञ्चबाट अनेक सन्दर्भ झिक्दै दर्शकसँग संवाद गर्ने तरिका मलाइ विशेष मन पर्‍यो ।’
दर्शकसँग मनको कुरा खोल्दै अमृतले भनेका थिए, ‘गाउँमा यति बेला बालाचतुर्दशीको चहलपहल छ । धान काटिसकेर दाइँ हाल्ने चटारो छ । आफू भने मनमा गाउँलाई लिएर यतातिर गाउँदै हिँडिएको छ । गाउँको याद आयो है… ।’

मध्यतिर ‘यो जिन्दगानी’ गीतका साथ कन्सर्ट जब सामाजिक दायरामा प्रवेश गर्‍यो, अमृतले त्यसैसँग सान्दर्भिक भनाइ राखे । ‘तपाईंहरूले पढ्ने अवसर पाए पनि नेपालमा अझै धेरै केटाकेटीले शिक्षाको उज्यालो देख्न पाएका छैनन्,’ उनले भने, ‘थोरै पैसा बचाएर भए पनि त्यस्ता केटाकेटीलाई स्कुलको दैलोसम्म पठाउन योगदान गरिदिनुस् ।’

कन्सर्ट उत्तरार्धतिर देशभक्तितर्फ ढल्कियो । अमृतले उसै गरी अब देश बनाउने दायित्व युवा पुस्ताले सम्हाल्नुपर्ने बताए । ‘नेपालमा माहोल चुनावमुखी छ । तपाईंका आफन्त, साथीभाइलाई चुनावमा सहभागी भएर परिवर्तनको मार्ग पहिल्याउन खबर गरिदिनू है… ।’

कन्सर्टको अन्त्य राष्ट्रिय झन्डाको महिमा गरिएको ‘रातो र चन्द्रसुर्जे’ गीतबाट भयो ।

अढाई वर्षको बच्चालाई जापानी सासूको जिम्मामा छाडेर आएकी अनिशा गुरुङदेखि लिएर जापानमा सूचना प्रविधि क्षेत्रमा कार्यरत सुनील श्रेष्ठसम्मका फरक–फरक पृष्ठभूमिका दर्शक नेपथ्यसँग रमाएका थिए ।

‘प्रविधिका हकमा कन्सर्ट जति आधुनिक थियो, प्रस्तोताहरू उत्तिकै जीवन्त लागे,’ कन्सर्ट हेरिसकेपछि सुनीलले प्रतिक्रिया दिए, ‘सबैभन्दा गजबचाहिँ प्रत्येक उमेर र प्रकारका दर्शकका निम्ति कुनै न कुनै विशेषता यस प्रस्तुतिमा अटाएको पाइन्थ्यो ।’

अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘नेपथ्यको कन्सर्टमा हलभरि रमाइरहेका दर्शकको अनुहार देखेर हामीजस्ता आयोजकलाई बेग्लै आनन्द महसुस हुन्छ,’ आयोजक समूहका सुभाष लामिछानेले भने, ‘कन्सर्टसँग जोडिएर टोकियोवरपर बसोबास गर्ने नेपालीको सेवा गर्न पाएकामा पनि गौरव महसुस गरिरहेका छौँ ।’

टोकियो कन्सर्ट सकिएपछि सामाजिक सञ्जालमा यत्रतत्र यससम्बन्धी पोस्ट भेटिन थालेका छन् । धेरैजसोले भिडियो मात्र राखेका छन् भने केहीले आफ्ना भावना पनि पोखेका छन् । तिनैमध्येका एक हुन् गणेश थापामगर (पिठाकोटे)।

‘नेपथ्य ब्यान्ड भएकै कारण जीवनमा पहिलो चोटि टिकट काटेर लाइभ कन्सर्ट हेरियो,’ उनले फेसबुकमा तस्बिरहरूसमेत राखेर लेखेका छन्, ‘अमृत गुरुङको आवाजले गुन्जिएको हलले मन्त्रमुग्ध र आनन्द महसुस गराएको छ ।’ 

नागोया र टोकियोको सफलतासँगै कलाकार, प्राविधिक र व्यवस्थापकको १४ सदस्यीय टोली अब ओसाकातर्फ लाग्नेछ । त्यहाँस्थित ‘जेप ओसाका बे साइड’ हलमा नोभेम्बर २४ मा ब्यान्डले यस वर्षको जापान यात्राकै अन्तिम प्रस्तुति दिनेछ ।

दर्शक सुविधालाई ध्यानमा राख्दै कन्सर्ट टिकट अनलाइनबाटै सोझै काट्न सकिने प्रबन्ध मिलाइएको छ । नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

 फोटोहरु: दिपित राज