२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२३ सम्म नेपाललाई दादुरा-रुबेला खोप निवारण घोषणा गरिने



अ+ अ-

रमेश गिरी, काठमाडौं । सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको भक्तपुरमा आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाका ८८ प्रतिशत बालबालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएको बताए ।

बालबालिकाले लगाउने सात प्रकारको खोप लगाएर पुरा गर्नेलाई पूर्ण खोप लगाउनेको सङ्ख्यामा राख्ने गरिन्छ । यो अभियानअन्तर्गत दादुर–रुबेलाको खोप लगाउने र पूर्ण खोप लगाउन बाँकी रहेकाको पहिचान गरि सबैलाई पूर्ण खोप लगाउन अभिप्रेरित गरिने भएको छ ।

भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । यसका लागि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा १९८ खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा दुईका दरले स्वयंसेविका परिचालन हुनेछन् । यसका लागि ३९६ स्वयंसेवक र ७१ खोप कार्यकर्ता परिचालन हुनेछन् । खोप अभियानमा पाँच हजार ४७१ भाइल खोप र सोही अनुपातमा घोलक र ३६ हजार २८० सिरिञ्जको प्रयोग हुनेछ ।

खोप अभियानमा खटिनेका लागि आवश्यक तालीम प्रदान गरेको, इँटाभट्टा, श्रमिक क्षेत्र र सुकुम्वासी क्षेत्रमा पनि अभियान सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले जानकारी दिए । खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यबस्था समेत गरिएको जानकारी दिदैं उनले खोपबाट कुनै प्रकारका प्रतिकूल असर नपर्ने बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार सरकारले पहिलो चरणमा फागुन महिनाभर प्रदेश नं १, २ र पाँचका ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ भने दोस्रो चरणमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ ।

सरकारकाले पहिलो र दोस्रो चरणको खोप अभियानमा ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य राखेको छ । दादुरा र रुबेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । त्यसपछि हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ मा सञ्चालन भइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुबेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् भने पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ ।

सरकारले सन् २०२३ सम्ममा अभियानले दादुरा रुबेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पुर्याई दादुरा रुबेला निवारण गर्ने उद्देश्य राखेको छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँचभभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सरकारले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । सोअन्तर्गत नेपाल सरकारको १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड खर्च गर्ने भएको बताइएको छ ।