२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीको आवेदन



अ+ अ-

शिक्षण स्वयंसेवकका लागि १३ हजार बढीले आवेदन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो शैक्षिक सत्रका लागि अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारतर्फ इन्जिनियरिङ विषयमा स्वयंसेवक शिक्षक पठाउने निर्णयअनुसार ती शिक्षकले आवेदन दिएका हुन्। आवेदन दिने शिक्षकको संख्या १३ हजार ३ सय ५४ जना रहेका छन्। शिक्षक स्वयंसेवक छनोट समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेले शिक्षक छनोट गर्ने काम भइरहेको बताए। उनका अनुसार चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी भइरहेको छ।

कतिपयले दुईवटा स्थानीय तहमा आवेदन फाराम भरेको भेटिएको बताउँदै उपमहानिर्देशक न्यौपानेले अहिले ती शिक्षकको एक पालिकामा मात्र नाम सिफारिस गर्ने काम भइरहेको बताए।समितिले आवेदकको नाम छनोट गरी स्थानीय तहको समन्वयमा स्वयंसेवक शिक्षक छनोट गर्नेछ। एक शैक्षिक सत्रका लागि यो वर्ष करिब १ हजार ५ सय स्वयंसेवक शिक्षक छनोट हुनेछन्।केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले करिब १५ करोड रुपियाँ बजेट व्यवस्थापन गर्न उक्त संख्यामा स्वयंसेवक शिक्षक छनोट गर्न लागेको जानकारी दिए। मन्त्रालयले पारित गरेको कार्यविधिको आधारमा शिक्षकलाई काममा खटाइनेछ।

केन्द्रले ६ सय ४८ स्थानीय तहका लागि शिक्षक छनोट गर्न लागेको हो। उपत्यकाका १८ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका र टोखा नगरपालिकामा मात्र स्वयंसेवक शिक्षक खटाइने भएको छ। अन्य स्थानीय तहमा पुल शिक्षक रहेको कारण स्वयंसेवक शिक्षक आवश्यक नरहेको श्रेष्ठको भनाइ छ। केन्द्रका अनुसार एक स्थानीय तहमा १० जनासम्म शिक्षकले रोजगारी पाउनेछन्। तीमध्ये पाँचथरको फिदिम, कटारीको चौदण्डी, महोत्तरीको बर्दिबास, नुवाकोटको विदुर, धादिङको नीलकण्ठ नगरपालिकामा बढी स्वयंसेवक शिक्षक परिचालन हुनेछन्। भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, पोखरा लेखनाथ महानगरपालिका, धनगढी उपमहानगरपालिकालगायत ठूला स्थानीय तहमा १५ जनासम्म स्वयंसेवक शिक्षक परिचालित हुनेछन्।

कैलालीको गोदावरी, लम्किचुवा, डडेल्धुराको परशुराम, कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि १० जनाभन्दा बढी शिक्षक परिचालन हुनेछन्। समितिका संयोजक न्यौपानेले सबै पालिकामा आवेदन परेको जानकारी दिए। उनले पहिलो चरणमा आवेदन छनोट गर्ने, स्थानीय तहअनुसार शिक्षकको मिलान गर्ने र स्थानीय तहकै समन्वयमा शिक्षक खटाउने तयारी भएको बताए।स्वयंसेवक शिक्षकले सम्बन्धित विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरेर मात्र पढाउन जाने व्यवस्था गरिएको छ। ती शिक्षकलाई केही दिन ओरेन्टेसन गराउने कार्यक्रम रहेको छ।सरकारले ‘चिनौं आफ्नो माटो, बनाऔँ आफ्नै देश’ अभियानअन्तर्गत शिक्षण स्वयंसेवकका लागि आवेदन आहवान गरेको थियो। ती शिक्षकले आगामी चैत महिनासम्मका लागि स्वयंसेवक शिक्षकका रूपमा काम गर्नेछन्।

कार्यविधिमा स्नातक वा स्नातकोत्तर उत्तीर्ण भएका र १८ देखि ४० वर्ष उमेर समूहकाले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। स्वयंसेवाका लागि क, ख र ग वर्ग कायम गरिएको छ।स्नातक तह उत्तीर्णलाई सुगममा खटिए निर्वाह भत्ताका रूपमा मासिक २४ हजार र दुर्गममा जानेलाई मासिक ३० हजार रुपियाँ उपलब्ध गराइनेछ। स्नातकोत्तर तह पुरा गरेकाले सुगममा मासिक २६ हजार रुपियाँ र दुर्गममा ३२ हजार रुपियाँ पाउन कार्यविधिमा उल्लेख छ। नेपाल समाचारपत्र दैनिक