जाजरकोट । बवर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे सडकले हैरान भएका पश्चिम जाजरकोटका बासिन्दाको माग पूरा भएको छ । वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतले यही फागुन ८ गते सो क्षेत्रको अनुगमनका क्रममा महिना दिनभित्र कालोपत्रको काम शुरु गरिने बताउनुभएको थियो । उहाँ काठमाडौँ फर्केको २२ दिनभित्र शिवालय गाउँपालिकाको मोर्कखोलाबाट सडकको कालोपत्रका लागि आज बोलपत्र आह्वान गरिएको हो ।
सडक कालोपत्रको काम क्रमागतरूपमा अगाडि बढाउन लागिएको मन्त्रीका स्वकीय सचिव मुस्कान रोकायले जानकारी दिनुभयो । एक महिनाभित्रमा कच्ची कटान भएको ठाउँमा कालोपत्रको काम शुरु गर्ने गरी कामको गति बढाइनेमा मन्त्री बस्नेतले स्थानीयवासीलाई आश्वस्त पार्नुभएको थियो । कालोपत्रका लागि सडक डिभिजन कार्यालय चौरजहारीले आज बोलपत्र प्रकाशन गरेसँगै स्थानीयवासी खुशी भएका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।