२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पितालाई ढोग्दै बालुवाटार छिरे प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने अस्पताल बसाइपछि शुक्रबार साँझ बालुवाटार फर्किएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पूर्ण स्वास्थ्य लाभ भएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जनाएकी छन् ।

प्रधानमन्त्री निवासमा ओलीलाई संक्रमणमुक्त राख्ने गरी प्रबन्ध मिलाइएको छ । प्रधानमन्त्रीलाई आराम गर्नुका साथै रुघाखोकीलगायत संक्रमणबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन् । चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपणपछिको एक महिना विशेष सावधानी आवश्यक हुन्छ र त्यसपछि पनि सतर्क रहनुपर्छ ।

६९ वर्षीय ओलीलाई पहिलो एक महिना शरीरको प्रतिरोधात्मक शक्तिलाई शिथिल पार्ने (इम्युनो सप्रेसेन्ट) औषधि उच्च मात्रा दिइने हुनाले संक्रमणको जोखिम हुन्छ । उनले रुघाखोकी लागेकाहरूबाट विशेष रूपमा जोगिनुपर्नेछ । त्यसैले त्रिवि शिक्षण अस्पतालबाट साँझ ६ः३० बजे डिस्चार्ज भएर बालुवाटार फर्कने क्रममा प्रधानमन्त्रीको सुरक्षालगायतमा संलग्न रहेकाहरूले मास्क लगाएका थिए ।

अस्पतालबाट फर्किने क्रममा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू, विष्णु पौडेल, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठलगायत नेकपाका नेताहरू पुगेका थिए । मिर्गौला प्रत्यारोपणका लागि बुवालाई ढोगेर बालुवाटारबाट निस्केका प्रधानमन्त्री ओलीले शुक्रबार अस्पतालबाट निवास छिर्दा पनि बुवालाई ढोकामा ढोगेका थिए । बालुवाटार फर्किसकेपछि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरूले आभार व्यक्त गरेका छन् । उनले स्वास्थ्यलाभको कामना गर्ने स्वदेशी तथा विदेशी ‘मित्र’ तथा नेपालीलाई धन्यवाद दिएका छन् ।

ओलीको मिर्गौला १० दिनअघि प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्रीको शरीरमा दुइटा आफ्नै र दुई पटकको प्रत्यारोपणपछि दुईवटा दाताको गरी चारवटा मिर्गौला छन् । प्रधानमन्त्री ओलीलाई यसपालि मिर्गौला दिएकी भान्जी समीक्षा संग्रौला गत बुधबार अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको भाइटल र ल्याब पारामिटर राम्रो अवस्थामा छन् । प्रधानमन्त्री ओली चिकित्सकको नियमित निगरानीमा समेत रहने प्रा।डा। शाहले जानकारी दिइन् । उनले आवश्यक सतर्कताका साथ प्रधानमन्त्री ओलीले आफ्नो नियमित काम गर्न सक्ने बताइन् । ‘प्रधानमन्त्री ओलीले वर्ष दिनपछि साधारण मानिस जस्तै एकदम सक्रिय जीवन बिताउन सक्नुहुन्छ,’ प्रा.डा. शाहले भनिन् ।

प्रधानमन्त्री ओली मिर्गौलाको समस्याका कारण करिब आठ महिनादेखि विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए । करिब तीन महिनाअघि एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गरिएको थियो । सिंगापुरमा प्लाज्माफेरेसिस गराउँदासमेत मिर्गौलाको कार्यक्षमता अत्यधिक घटेपछि पटकपटक डायलसिस गरिएको थियो । निजी चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको सल्लाह दिएका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।