५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले निर्वाचनबाट भाग्दैन तर निर्वाचन हुने विश्वास छैनः अग्नी खरेल



अ+ अ-

काठमाडौँ । एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताउनुभएको छ ।

नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाउनु भयो । निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनितिक दलका नेताहरुलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरुलाई विश्वास नलागेको उहाँको भनाई छ । उहाँले निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताउनु भयो । तर सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा विगार्नेतिर बढी गएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘प्रहरीको मनोबल अगाडी बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । कामकारबाही नै त्यो खालको भईरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने । निर्वाचनमय वातावरण बन्नुपर्छ होला नी त, त्यो वातावरण बनेको छ ? त्यसका निम्ति चाहिने चीजहरु आएर फरर आएर भनेर मात्रै हुन्छ ? त्यो खालको निर्वाचनमय वातावरण बनेको छ कि छैन । या बनाईँदै छ कि छैन । चुनाव गर्नुस् हामी भाग लिन्छौ तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन, त्यो विश्वास दिलाउने काम सरकारको हो । दलसंग वार्ता गर्दिन भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शिर्ष नेताहरुसंग म बस्दिन, किन बस्दिन ? प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानन्याधीश बनाउने त तीनै शिर्ष नेता हुन त ? त्यसबेला प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो क्यार ।’

उहाँले राजनितिक दलहरुसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको पनि स्मरण गर्नुभयो ।