२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जव मन्त्री त्रिपाठीले राजनीतिक तहमा सहमति जुटाउन समय मागेपछि…



अ+ अ-

काठमाडौं । संघीय निजामति सेवा ऐनको विधेयक अन्तिम चरणमा पुगेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्देयश त्रिपाठीले राजनीतिक तहमा सहमति जुटाउन समय मागेपछि सांसदहरु आक्रोशित बनेका छन् ।

संसद राज्य व्यवस्था समितिमा लामो समयदेखि छलफलमा रहेको विधेयक आज अन्तिम टुंगो लगाउने तयारी रहेपनि मन्त्री त्रिपाठीले समय मागेपछि सांसदहरु आक्रोशित बनेका हुन् । राजनीतिक सहमति जुट्न बाँकी रहेको र गृहकार्यका लागि केही समय आवश्यक रहेको मन्त्री त्रिपाठीले बताउनुभएको थियो । मन्त्री त्रिपाठीले संशोधनको आवश्यकता सहित समय चाहिन्छ भनेपछि सांसद जनार्दन शर्माले २ दिन समय लिएर तेस्रो दिन टुंगो लगाउने कुरा मान्न सकिने भएपनि टार्ने कुरा मान्य नहुने बताउनुभयो । विभिन्न बाहनामा सरकारले सार्न र टार्न खोजेको भए विधेयक नै फिर्ता लैजान उहाँले चेतावनी दिनुभयो । अहिलेसम्म भएका सहमतिहरुबाट समितिका कुनै सदस्यहरु पछि नहट्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘२ दिन समय लिएर तेस्रो दिन टुंगो लगाउने विषय अन्यथा नभएपनि सार्ने र टार्ने कुरा मान्य हुँदैन् । कि त सरकारले विधेयक फिर्ता लिनुपर्छ ।’

सांसद पम्फा भुसालले पनि समितिबाट विधेयक छिटोभन्दा छिटो पास गर्नुपर्ने बताउनुभयो । समितिबाट पास भएन भन्ने दोष आफुहरुले नलिने भन्दै उहाँले छिटो पास नगर्ने भए विधेयक फिर्ता लैजानुस भन्नुभयो । ‘यसलाई छिटोभन्दा छिटो पास गरौँ । कि सरकारले फिर्ता लैजावस । राज्य व्यवस्था समितिले पास गरेन भन्ने दोष हालिने लिन्नौँ’, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले विधेयकलाई तत्काल अगाडी बढाउन आग्रह गर्नुभयो । सबै विषयमा प्रतिपक्षी र सत्तापक्ष दल भनेर नहुने उल्लेख गर्दै उहाँले भोली प्रतिपक्षी पनि सत्तामा जाने भएकाले आफुहरुलाई पनि कानून आवश्यक पर्ने उहाँले बताउनुभयो । सांसद बडुले के कारणले समय चाहियो ? कति समय चाहिन्छ भनने कुरा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

प्रदेशके मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद थियो । बैठकमा मन्त्री त्रिपाठीले विधेयकले पूर्णता नपाएको समायोजनमा गएका कर्मचारीहरुले समेत असुरक्षीत महसुस गरेको र स्थानीय तहका लागि लिइएको परीक्षामा पास भएका शाखा अधिकृतहरुले समेत नियुक्ति लिन नमानेकोले केही विषयमा गृहकार्ग गर्न अझै समय चाहिने बताउनुभएको थियो । कर्मचारीको मनोबल गिराएर सरकारले राम्रो काम गर्न नसक्ने उहाँले बताउनुभयो ।

समिति सभापति शशी श्रेष्ठले धेरै समय दिन सकिने अवस्था नरहेका उल्लेख गर्दै ७ गतेको संसदमा विधेयक लैजानेगरी टुंगो लगाउनुपर्ने बताउनुभयो । समितिले मन्त्रीमाथि दोष थुपारेर जिम्मेवार हुनुहुन्न भन्ने खोजेको नभई यसले पारेको असर के छ भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो ।

समितिको बैठक चैत ५ गते सम्मका लागि स्थगित भएको छ । समितिले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहको हुनेरी प्रस्ताव तयार गरेको छ ।