काठमाडौं। त्रिभूवन विश्वविद्यालय परिसरमा निर्माण कार्य अवरुद्ध गर्दै व्यवसायी र श्रमिकमाथि धम्क्याउने कार्य भएको भन्दै काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले सुरक्षाको माग गरेको छ ।
कीर्तिपुर नगरपालिका क्षेत्रभित्र विश्वविद्यालय परिसरमा सञ्चालन भइरहेका निर्माण कार्यमा केही विद्यार्थी समूहले हस्तक्षेप गरी निर्माण स्थलमा हुलहुज्जत गरेर व्यवसायी, श्रमिकलाई धम्काएपछि संघले सुरक्षाको माग गरेको हो ।
संघद्वारा जारी विज्ञप्तिमा विद्यार्थीले निर्माण स्थलमा प्रवेश गरी निर्माण सामग्री फाल्ने, निर्माण व्यवसायी र श्रमिकहरूलाई शारीरिक तथा मानसिक रूपमा धम्क्याउने कार्य बन्द गर्न भनेको छ । विज्ञप्तिमा त्रिभूवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको बोलपत्र प्रक्रियामार्फत “शुभ कामना निर्माण सेवा प्रा.लि.” निर्माण कम्पनीलाई भवन निर्माण कार्यको जिम्मा दिइएको उल्लेख गरिएको छ । संघले सो सम्झौताअनुसार कम्पनीले निर्माण कार्य अघि बढाइरहेको बेला विद्यार्थी समूहको हस्तक्षेपले निर्माण वातावरण विथोलिएको बताएको छ ।
संघका महासचिव पञ्च बहादुर तामाङ (विजय) द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न र निर्माण व्यवसायी तथा श्रमिकहरूको सुरक्षाको व्यवस्था गर्न संवद्ध निकायलाई आग्रह गरिएको छ । साथै, निर्माण कार्य अवरुद्ध गर्ने, धम्की दिने तथा विकास विरोधी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न संघले जोडदार माग गरेको छ । संघले निर्माण कार्य कानूनअनुसार र सम्बन्धित निकायसँग समन्वयमा अघि बढाइएको उल्लेख गर्दै वातावरण सहज बनाई चाँडोभन्दा चाँडो निर्माण कार्य पुनः सुचारु गर्न विश्वविद्यालय प्रशासन र सरोकारवाला पक्षलाई अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल
यस्तो छ, विज्ञप्ती ….
यही मिति २०८२/७/१७ गतेका दिन काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका क्षेत्र भित्र रहेको त्रिभुवन विश्वविद्यालयको परिसरमा निर्माण कार्यमा खटिएका. निर्माण व्यवसायी एंव. श्रमिकहरुप्रति केही विद्यार्थीहरुका हुलहुज्जतहरुले निर्माण कार्यस्थलमा प्रवेश गरी निर्माण सामाग्रीहरु फाल्ने र व्यवसायी एंव. श्रमिकहरुलाई गालिगलौज तथा धाकधकेल गर्ने जस्ता कार्यप्रति (घटनाप्रति) यस काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको ध्यानकर्षण भएको छ । त्रि.वि. रजिष्ट्ररको कार्यालयद्वारा आहवान भएको बोलपत्र अनुसारको चमेना गृह भवन निर्माण सम्बन्धी कार्यको निर्माण व्यवसायी पचली भैरव एण्ड मनकामना निर्माण सेवा प्रा.लि. र रजिष्ट्ररको कार्यालय बीच सम्झौता भई निर्माण कार्य सुरुवात गर्ने क्रममा केही विद्यार्थीहरुको झुण्डले निर्माण स्थलको वातावरण विथोल्ने र निर्माण व्यवसायीलाई आतांकित पार्ने गतिविधि गरेको हुँदा उक्त गतिविधि तत्काल रोक्न र निर्माण व्यवसायी तथा श्रमिकहरुको जिउधनको सुरक्षा गर्न हार्दिक अनुरोध गर्दछौं । वर्तमान अवस्थाको सम्दर्भमा निर्माण व्यवसायीले कबोल गरेको निर्माण कार्य सम्बन्धित कार्यालयसंग समन्वय गरी यथासक्य छिटो भन्दा छिटो निर्माण कार्य सुरुवात गर्ने वातावरण सिर्जना गर्न र विकास विरोधी दोषी तत्वलाई तत्काल कारवाही गरी कानूनी दायरमा लिन यस संघ जोडदार माग गर्दछौं ।










