१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात नगरपालिका उत्कृष्ट घोषित, ‘स्थानीय सरकार’ भन्न दलीय सहमति आवश्यकः प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौंः नेपाल नगरपालिका संघले विभिन्न पाँच विधामा सात नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ ।संघले उत्कृष्ट घोषणा गरेका नगरपालिकाहरुमा वालिङ, पुतलीबजार, निकलण्ठ, इलाम, हरिवन, तिलोत्तमा र राप्ती नगरपालिका रहेका छन् ।

संघका अनुसार, संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका, शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन, वातावरण, जलवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट देखिएका छन् ।

साथै, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका तथा सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट ठहरिएका छन् ।

नेपाल नगरपालिका संघको २९ औ साधारणसभाको अवसरमा उत्कृष्ट नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो । 

संघको साधारणसभाको अवसरमा प्रमुख अतिथिका रुपमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयरलाई प्रमाणपत्रसहित पुरस्कृत गर्नु भएको थियो । 

उक्त पुरस्कार इलाम नगरपालिकाका मेयर महेश बस्नेत, राप्तीकी प्रभा बराल, हरिवनका गणेश प्रसाई, पतुलीबजारकी सीमा क्षेत्री, बालिङका दिलिप खाँण, निलकण्ठका भीम ढुंगाना र तिलोत्तमाका मेयर बासुदेव घिमिरेले  ग्रहण गर्नु भएको थियो । 

त्यस अवसरमा समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्न आफूलाई कुनै आपत्ति नरहेको बताउनु भएको थियो । प्रधानमन्त्री देउवाले स्थानीय सरकार बनाउन दलीय सहमति जुट्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा वक्ताहरुले संविधानले तीन तहको सरकारको परिकल्पना गरेपनि स्थानीय  ‘सरकार’ नभनेर तहमात्रै भन्नु उपयुक्त नहुनेमा जोड दिएका थिए ।