२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली नै बिर्साउनेगरी पड्किए काठमाडौँमा पटाका, यसकारण मुकदर्शक बन्यो प्रहरी



अ+ अ-

काठमाडौँ: काठमाडौँमा यसपालि निकै पड्किए पटाका । भनिन्छ, भारतको राजधानी नयाँ दिल्लीमा दिपावलीमा सबैभन्दा बढी पटाका पड्किन्छन् रे । दिपावलीमा पड्काइने पटाका नियन्त्रणका लागि दिल्ली प्रहरीले प्रहरीको विशेष दस्ता नै खटाउने गर्दछ ।

यसपालि काठमाडौँमा पड्किएका पटाकाले यस्तै दिल्लीकै झझल्को दिएको छ । पहिलेका बर्षहरुमा प्रहरीले निकै निगरानी गर्ने गर्दथ्यो पटाका भित्रिन नदिन । अनि ठूलो आवाजका साथ कतै पटाका पड्किएमा पनि निगरानी गर्ने गर्दथ्यो । कतै त त्यस्तालाई पक्राउ गरेको खबरहरु पनि आउने गर्दथे ।

तर यसपटक भने त्यस्ता कुनै समाचार आएनन् । नत काठमाडौँ भित्र्याइँदै गरेका यति उती पटाका बरामद भनेर समाचार आए । प्रहरीले त्यस्तै कुनै समाचार रिलिज गरेको पनि पाइएन ।

सायद यसैले होला यसपटक पाटाका ल्याउनेहरुका लागि सहज भएको पाइयो । त्यसैले काठमाडौँमा पहिलेका तुलनामा धेरै पड्किए पटाका ।

गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा प्रहरी पहिलो तारो बनेको थियो । कतै प्रहरीले नांगै बनाएर कुटिएका तथा प्रहरी चौकीमै जलाइएका समाचार पनि आएका थिए । कुटपिट गरेर प्रहरीको हत्या गरेका दृश्य त देखिएकै थिए । कतै प्रहरी चौकी लुटेर प्रहरीका ड्रेस लगाएर हिँडेका दृश्य थिए भने हतियारै लुटेका समाचार पनि आएकै थिए ।

यसरी मनोबल गिराइएको थियो प्रहरीको । सायद माओवादीको दश बर्षे सशस्त्र द्वन्द्वका समयमा भन्दा पनि बढी यसपालि प्रहरीको मनोबल गिरेको छ । यतिखेर पनि सडकमा ट्राफिक प्रहरीको हालत त्यस्तै देखिन्छ । न ट्राफिक लाइट नत प्रहरीले लगाउने पोशाक । निकै निरीह अवस्थामा देखिन्छन् प्रहरी ।

प्रहरीका चौकी जलेका छन् । अधिकांश चौकीमा आगो लागेको छ, रंगरोगन बिनैको कालो चाकीमा जेनतेन रात काटिरहेका छन् । चाडबाडका मुखमा प्रहरीका आफ्नै सरसामग्री समेत जलेका छन् ।

अनि कुन मनोबलले काम गरोस् प्रहरी ? सायद यही भएर होला यसपालिको तिहारमा प्रहरीले पटाका नियन्त्रणमा खासै चासो दिन नसकेको या नगरेको हुनसक्छ ।

यसपालिको तिहारमा काठमाडौँमा पहिलेका बर्षहरुभन्दा निकै बढी मात्रामा पटाका पड्किएका छन् । तिहारको सुरुआतदेखि नै यो क्रम सुरु भएको छ । धेरैले प्रहरीको यही बाध्यताका कारण पटाकामा ध्यान दिन नसकेको हुनसक्ने अनुमान गरेका छन् ।