काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको भन्दै सार्वजनिक भएका तस्वीरबारे प्रहरीले अनुसन्धान थालेको छ ।
हाल सामाजिक सञ्जालमा भाइरल बनेका ती तस्वीरहरूमा टीओबी लेखिएको ज्याकेट लगाएका एक व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल जस्तो देखिने वस्तु घुसाउँदै गरेको देखिन्छ । तस्वीरले ठूलो सार्वजनिक ध्यान खिचेपछि प्रहरीले यसबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एक अधिकारीका अनुसार तस्वीरमा देखिएका व्यक्तिले साँच्चै पेस्तोल बोकेका हुन् वा होइनन् भन्ने विषयमा हालसम्म यकिन भइसकेको छैन ।
“पेस्तोल बोकेको पुष्टि भइसकेको छैन । यद्यपी, यसबारे हामी आन्तरिक रूपमा बुझ्ने र अनुसन्धान अघि बढाइरहेका छौं,” प्रहरी अधिकारीले बताए।
प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका सदस्यहरूका गतिविधि, तोडफोड, आगजनीलगायतका घटनाबारे पनि अनुसन्धान भइरहेको छ ।
तस्वीरको स्रोत र सत्यता पुष्टि गर्न डिजिटल फरेन्सिक अध्ययन तथा प्रत्यक्ष प्रमाण सङ्कलनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।










