काठमाडौँ । भीआईपी तथा भीभीआईपीको सुरक्षामा मापदण्ड विपरीत खटाइएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।
गत असोज २३ गते गृह मन्त्रालयले मापदण्ड उल्लङ्घन गरी तोकिएकाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको भन्दै तिनलाई फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सुरक्षाकर्मी फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार हालसम्म २७१ सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । तीमध्ये १७४ जना नेपाल प्रहरी र ७४ जना सशस्त्र प्रहरीका रहेका छन् ।
विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई अधिकतम १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीमार्फत सुरक्षा उपलब्ध गराइने व्यवस्था छ ।
तर, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी प्रयोग गरेको पाइएको थियो ।
अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरूले पनि सोही मापदण्ड उल्लङ्घन गर्दै अतिरिक्त सुरक्षाकर्मी राखेका थिए। ती सबै समेटेर २७१ जना सुरक्षाकर्मीलाई फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।
फिर्ता भएका सुरक्षाकर्मीहरूलाई अब आफ्ना संगठनले तोकेको नियमित ड्युटीमा खटाइने बताइएको छ।










