२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पशुपति : साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै



अ+ अ-

काठमाडौँ । पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो । आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव ठड्याएर राखेको देखियो । दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कदै थिए । धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए । तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए तर मलामीलाई आफन्त गुमाएको पीडा । यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै कसरी जाओस् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा एक प्रकारको सन्नाटा थियो । दर्शनार्थी कोही पनि थिएनन् । थिए त मलामी र तीन चार साधु । नदी किनारमा एउटा मात्र शव राखिएको थियो । किनारमा लहरै दाहसंस्कारका लागि बनाइएको स्थलमा दाउरा राखिएको थियो । अरु बेला दाउराका लागि कुर्नुपथ्र्यो । अहिले यहाँ लकडाउनमा दाहसंस्कार गर्न पहिलाको जस्तो शव ल्याइएको छैन । सरकारले दाहसंस्कारका लागि कुनै रोक त गरेको छैन । बरु दाहसंस्कारका लागि चाहिने स्रोतसाधनको पर्याप्त व्यवस्था गरेको छ । “किन हो कुन्नि लडकडाउन शुरु भएयता दाहसंस्कार गर्न पहिलाको जस्तै शव ल्याएको पाइन्नँ”, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा घनश्याम खतिवडाले भने, “हामीले दाहसंस्कारको सबै चाँजोपाँजो मिलाइदिएका छौँ, कुनै कुराको कमी हुन दिन्नौँ ।”

वाग्मतीपारि जान खोज्दा साँढेले बाटो छेक्यो । अजङ्गको साँढे पुलमा उभिएको थियो । त्यसको अवस्था देख्दा निकै भोकाएको जस्तो देखिन्थ्यो । हत्तपत्त साँढेले बाटो छोडेन । नदीपारि पनि साँढे यत्रतत्र थिए । श्लेषमान्तक वनतर्फको बाटोमा गोबरैगोबर थियो । लकडाउनयता उक्त क्षेत्रमा सरसफाइ गरिएको छैन । उकालो चढ्दा बाटोमा अर्का साधु भेटिए । उनले नेपालीमा कुरा गर्न सकेनन् । भारतबाट आएका साधुले हिन्दीमै जवाफ फर्काए । लकडाउनपछि बाहिरबाट आएका साधुले पशुपतिनाथ मन्दिर क्षेत्र छाडेको उनको भनाइ थियो । “म पनि यहाँ धेरै बस्दिनँ, खानपिनको समस्या छ”, उनले भने ।

मृगस्थली पुग्दा पनि बाटोमा साँढे नै थिए । साधु बस्ने कुटियाभित्र तीन साँढे भेटिए । “लकडाउन शुरु भएपछि साँढे हामीसँगै कुटियामा बस्ने खाने गरेका छन्”, दिउँसोको भजनकीर्तनको तयारीमा रहेका योगी व्याघ्र वेदनाथले गुनासो गरे, “भगवान् शिवको बाहन साँढे (नन्दी)लाई नै पशुपतिनाथ मन्दिर पस्न मनाही गरिएको छ ।” साँढेलाई पशुपति मन्दिर परिसरमा पस्न नदिएकामा वेदनाथ मात्र होइनन् त्यहाँ रहेका अरु साधु पनि खुशी थिएनन् । उनीहरुले साँढे सधैँ भगवान् शिवको साथमा रहने धार्मिक कथन सुनाए । “साँढेलाई भोकभोकै र यसरी अलपत्र पार्न हुँदैन”, योगी वेदनाथले भने, “यो त सुहाउने काम भएन, मान्छेलाई पो रोक्ने हो, यी पशु कहाँ जान्छन् ?” उनले पशुपति क्षेत्रभित्रका साँढेलाई आहारको कमी भएको बताउनुभयो । तिनीहरु भोकले पनि साधु भएको ठाउँमा आउने गरेको उनको भनाइ थियो ।

पशुपति क्षेत्रमा बस्दै आएका साधुसन्तलाई खाद्यान्न अभाव भएको उनीहरुले बताए । उनीहरुले कोषले आफूहरुको समस्याबारे चासो नदिएको गुनासो गरे । “कोषले लकडाउनपछि एक बोरा चामल उपलब्ध गराएको छ”, योगी वेदनाथले भने, “यतिका साधुसन्तलाई यसले पुग्छ ।” त्यही एक बोरा चामल पनि उनीहरुले प्रयोग गरेका छैनन् । “हामी भिखारी होइनौँ, यो चामल प्रयोग गर्दैनौँ, फिर्ता गछौँ, नभए परेवाले खान्छ”, उनले भने । यहाँ बस्दै आएका साधुसन्तले पहिला दर्शनार्थीले ल्याइदिएको खाद्यान्न तथा अन्य सामग्रीले खानपिनको जोहो गर्दै आएका थिए । अहिले कोही पनि नआउँदा उनीहरुलाई समस्या भएको छ । पहिलादेखिकै बचेको सामग्रीका भरमा उनीहरु बस्दै आएका छन् । यहाँका साधुसन्तले उल्टै भोकाएर आउनेलाई समेत खानाको प्रबन्ध मिलाउने गरेका छन् । “दिनहुँ ५० जनाभन्दा बढी भोकै छौँ भन्दै खाना खान आउँछन्”, योगी वेदनाथले भने, “भोकै आउनेलाई खुवाएर पठाउनै पर्यो ।”

मृगबाटिकाभित्र ठूलो सङ्ख्यामा मृग राखिएका छन् । मृगबाटिकाभित्रै बोकासमेत राखिएको छ । मृग र बोकालाई समेत आहारको अभाव भएको साधुहरुले बताए । “हाम्रो त यो अवस्था छ, यिनलाई कसले हेर्ने ?” उनीहरु गुनासो गर्दै थिए । मृग र बोकाका लागि हरियो घाँसको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो । “मृगको खान्की नै हरियो घाँस हो, पिठो खुवाएर हुन्छ”, उनीहरुले आक्रोश व्यक्त गरे । कोषका कर्मचारीहरु नियमितरुपमा रेखदेख तथा अनुगमनका लागि नआउने गरेको उनीहरुको दुखेसो थियो ।

बाटोभरि यत्रतत्र फोहरैफोहर देखिन्थ्यो । कुहेको केरा र चना मात्रै थियो । राम मन्दिरबाट फर्कँदै गर्दा बाटोमा भोक मेटाउन मैतीदेवीबाट हिँडेर पशुपति क्षेत्र पुगेका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–९ का कैलाश खड्का भेटिए । “डेरामा खानपिनको समस्या छ, खाना खान यतै आउँछौँ”, उनले भने । हिँडैरै घर जान पनि असहज भएको उनी बताउछन् । गाउँलेको डरले घर नगएको खड्काको भनाइ छ । “बाहिरबाट रोग ल्याएर आयो भन्लान भन्ने डरले गएको छैन”, उनले भने, “बरु जसोतसो गरी लकडाउन यतै काट्छु ।” खड्कासँगै काठमाडौँमा मजदुरी गरी जीविकोपार्जन गर्दै अन्य दुई जना पनि खाना खान साधुसन्तकहाँ जाँदै थिए ।

कोषका कार्यकारी निर्देशक डा खतिवडाले साँढेलाई पशुपतिनाथ मन्दिरभित्र प्रवेशमा रोक लगाएको स्वीकारे । “लकडाउनपछि साँढेलाई मन्दिर परिसरमा जान दिएका छैनौँ”, उनले भने, “भित्र जताततै गोबर नै गोबर हुन्छ, फोहर सफा गर्न सकिन्नँ, यस्तो माहामारीमा कर्मचारीलाई घरबाट बोलाउन पनि भएन ।” लकडाउनअघि साँढेलाई मन्दिरभित्र पस्नबाट नरोकेको खतिवडाले बताए । साँढेले दुबो र बगैँचा नास गर्ने भएकाले पशुपतिका चारैतर्फका ढोका थुनेको उनी बताउछन् । सरसफाइलाई ध्यानमा राख्दै साँढेलाई बाहिरै राखिएको खतिवडाको भनाइ छ ।

निर्देशक खतिवडाले पशुपति क्षेत्रमा रहेका साधुसन्त, बाँदर, मृग, साँढे, बोकालगायतलाई खानपिनको प्रबन्ध मिलाइएको बताए । “मृगबाटिकामा रहेका १५७ मृगका लागि पर्याप्त खानेकुराको व्यवस्था गरेका छौँ”, उनले भने, “पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले छाडेर गएका बोकालाई पनि मृग बाटिकामै राखेका छौँ, उनीहरुलाई खानेकुराको कमी छैन ।” बाँदरका लागि पवन सङ्घाइले एक दशकदेखि खानेकुराको व्यवस्था गर्दै आएको उहाँले जानकारी दिए।

“उहाँले नियमित बाँदरको रेखदेख गर्दै आउनुभएको छ”, खतिवडाले भने । पशुपति क्षेत्रमा झण्डै ४० हजारको सङ्ख्यामा परेवा रहेको उनले जानकारी दिए। “दैनिक ३० पाथी जति चामल र मकै परेवालाई खुवाउने गरेका छौँ”, खतिवडाले भने । लकडाउनपछि पशुपति क्षेत्रको सरसफाइमा १० कर्मचारी खटाइएको छ । उनीहरुले पालैपालो काम गर्ने गरेको उनी बताउछन् । “पाँच–पाँच जनाको समूहले काम गर्ने गरेका छन्, लकडाउनका कारण कर्मचारी कटौती गरी काम चलाएका छौँ”, डा खतिवडाले भने । उनले दैनिक ३०० देखि ५०० जनालाई खाना खाने प्रबन्धसमेत मिलाइएको बताए ।