२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मजदुरलाई गाउँ छिर्न नदिने बताएका यी मुख्यमन्त्री काठमाडौँमा के गर्दैछन् ?



file photo
अ+ अ-

काठमाडौँ । यसअघि अप्ठेरामा परेका, सयाँै किलोमीटर हिँडेर आफ्नो घर पुग्न बाध्य भएका मजदुर तथा निम्न बर्गीय नागरिक सडक सडकमा आफ्ना पोका पन्तुर बोकेर हिँडिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक मात्रामा आए । नागरिकले राखेका तथा सञ्चारमाध्यममा आएका यी असह्य पीडादायी तस्बिर र समाचारमार्फत आएको आलोचना सहन नसकेर सरकारले घर जान चाहने सर्वसाधारणलाई दुइ दिनका लागि काठमाडौँबाट बाहिर जान दिने निर्णय गर्यो ।

तर त्यसको केही समयपछि नै सरकारले निर्णय नगरेको भन्ने नाटक गर्यो र यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयमा राखिएको सूचना नै हटाइयो । यसो मुख्य कारण थियो प्रदेश सरकारको विरोध । सबैभन्दा बढी विरोध गर्ने मुख्यमन्त्री थिए ५ नम्बर प्रदेशका शंकर पोखरेल । उनले त सामाजिक सञ्जालमा लेखेरै राजधानीबाट मानिसलाई किन बाहिर जान दिने भन्दै विरोध गरेका थिए । उनले आफ्नो प्रदेशको जिम्मा आफै लिने भन्दै यदि कोही नयाँ मानिस आएमा ५ नम्बर प्रदेशमा छिर्न पनि नदिने भन्दै निकै निर्दयी र स्वार्थी भनाइ राखेका थिए ।

तर अहिले केही दिनदेखि ती मुख्यमन्त्री पोखरेल भने काठमाडौँमै छन् । उनी कहिले बालुवाटार त कहिले कोटेश्वर माधव नेपालको निवास गरिरहेका छन् । प्रधानमन्त्री ओलीको सत्ता थामिदिन हुटिट्याउँले आकाश धानेजस्तै गर्दै उनी अहिले कुदिरहेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पार्टीको आन्तरिक विवाद मिलाउन भन्दै काठमाडौं आएका हुन् । उनी धेरै दिनदेखि काठमाडौँमै छन् ।

कोरोना भाइरसको संक्रमणबाट जनताको जीवन रक्षा गर्ने बेला मुख्यमन्त्री पोखरेल कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको हल्लिदै गरेको कुर्सी बचाउन सक्रिय भएका हुन् । यस्तो बेलामा आफ्नो प्रदेशका नागरिकलाई घरभित्रै थुनेर मानौँकि आफ्नो प्रदेशमा कोरोनाको प्रभाव नै छैनजस्तो गरेर उनी किन काठमाडौँ घुम्दैछन् ?

महामारीका विरुद्ध लड्ने बेलामा प्रदेश ५ को सबै काम छाडेर पोखरेल विगत तीन–चार दिनदेखि काठमाडौंमा अड्डा जामाएर बसेका छन् । आफ्नै गृहजिल्ला दाङमा कोरोना भाइरसको संक्रमणविरुद्धका स्वास्थ्य सामग्रीहरू पु¥याउन नसकेको भनेर आलोचना भइरहेको छ । प्रदेश पाँचका जिल्लाहरूमा कोरोनाविरुद्धको स्वास्थ्य सामग्री पु¥याउन नसकेको भनेर मुख्यमन्त्री पोखरेलको आलोचना भइरहेको छ ।

दाङको राप्ती गाउँपालिकाको सिसहनियाँ अस्पतालमा आईसीयु माग गरेपनि पोखरेलले सो माग पनि पूरा गरिदिन सकेका छैनन् । बर्दिया जिल्लाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बर्दियाका जनता त्रसित बनेका बेला उनीहरूको स्वास्थ्य रक्षाका लागि निर्देशन दिएर स्वास्थ्य सामग्री पठाउने बेला मुख्यमन्त्री भने आफ्नो प्रदेश छाडेर काठमाडौंमा छन् ।

पोखरेलले प्रदेश ५ का जनताको जीवन रक्षालाई भन्दा धरमराउँदै गरेको प्रधानमन्त्री पदको कुर्सीको मोह धेरै भएकोले यतिखेर काठमाडौँमा भौँतारिएर हिँडेका छन् । यसकारण उनको सामाजिक सञ्जालमा आलोचना पनि भएको छ ।

ओलीको सन्देश बोकेर आइतबार पोखरेल प्रचण्डकोमा पुगेका थिए । तर उनको कुरालाई प्रचण्डले बाल नदिएको स्रोतले बतायो । त्यसपछि पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई फाकाएर ओलीको पक्षमा लैजाने प्रयासमा लागेको बुझिएको छ । तर पनि उनलाई यसअघि पनि माधव नेपालले ओलीको पक्षका सुलसुले भनेर नामै दिएका थिए । त्यसैले यसपटक पनि उनलाई माधव या गौतमले नगन्ने नेकपाका एक नेताले बताएका छन् ।

यी मुख्यमन्त्री आफ्नो क्षेत्रमा सिन्को नभाँच्नेमा गनिन्छन् । फेसबुक र ट्वीटरमा ठूला कुरा गर्ने, पार्टीमा आफूलाई माक्र्सवाद बुझेको विश्लेषकका रुपमा जबर्जस्त स्थापित गर्न खोज्ने तर काममा भने सिन्को पनि नभाँच्नेमा यी गनिन्छन् । अहिले पनि यीनले आफ्नो प्रदेशमा कोरोनाका विरुद्धको लडाइँमा अस्पताल तयार पार्न सकेका छैनन् भने अझै पनि औषधि र सामग्रीसम्मको जोहो पनि गर्न सकेका छैनन् । उता आफ्नो प्रदेशमा यस्तो हालत हुदाहुदै उनीभने अहिले राजधानीमा राजनीतिक चलखेलमा छन् ।