२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाभित्रकाे रस्साकस्सी जारी, प्रचण्ड भेट्न खनाल पुगे खुमलटार



फाईल फोटो
अ+ अ-

काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरसंर्घषलाई मत्थर पार्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमतिको संकेत देखिएपछि अर्का नेता झलनाथ खनालको दाैडधुप सुरु भएको छ ।

दुई पक्ष बालुवाटार र कोटेश्वरमा छलफलमा जुटिरहँदा नेता खनाल भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । अध्यक्ष दहालले प्रधानमन्त्री र राष्ट्रपति दुबै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै माधव नेपाललाई प्रधानमन्त्री र नेता खनाललाई राष्ट्रपति बनाउनु पर्ने कुरा आफू निकट केही नेताहरुसँग राखेका थिए ।

नेपाल समूह र ओली समूहबीच निरन्तरको छलफल र सहमतिको संकेत देखेपछि खनाल पनि आफ्नो भूमिका खोज्दै सक्रियता बढाउन थालेका हुन् । नेता खनालले भैंसेपाटी बैठक अनुसार नै तत्काल स्थायी समितिको बैठक बोलाउनु पर्ने, ओलीले बैठक नबोलाए अर्का अध्यक्ष दाहालले बैठक बोलाउनु पर्ने र हाल देखिएका समस्या र सरकार र पार्टीबीच उत्पन्न संकटका बारेमा ठोस निर्णय लिनु पर्ने बताउँदै आएका छन् ।

पार्टीभित्र शक्ति सन्तुलनका हिसाबमा कमजोर देखिएका खनाल दाहाललाई साथमा लिएर आफ्नो भूमिका देखाउन सक्रिय भएकाे जानकारहरूकाे भनाइ छ ।