१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो

विज्ञहरु भन्छन्- ”लकडाउन खुकुलो पार्दा स्वास्थ्य चुनौती आउन सक्छ”

विज्ञहरु भन्छन्- ”लकडाउन खुकुलो पार्दा स्वास्थ्य चुनौती आउन सक्छ”
अ अ+ अ-

काठमाडौँ । संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकार चुकिरहेको भन्दै विज्ञहरूले नेपालगन्जमा फैलिएको संक्रमणले त्यही सन्देश दिएको जनाएका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाउन र दैनिक ३ हजारसम्म पीसीआर परीक्षण गर्न उनीहरूले सुझाव दिएका छन् । यथास्थितिमा लकडाउन खुकुलो पार्दा स्वास्थ्य चुनौती आउन सक्ने उनीहरूको चेतावनी छ । सरकारले लकडाउनबारे निर्णय गर्नुअघि नेपालगन्ज घटनालाई राम्ररी केलाउन आवश्यक रहेको औंल्याउँदै नारायणी अस्पताल वीरगन्जका डा. नीरज सिंहले भने, ‘हामीले डेढ महिना मुलुकलाई रोक्यौं तर यो समयमा अस्पताल, जनशक्ति, चिकित्सकीय सामग्री, परीक्षण आदिको अवस्था बलियो पार्न सकेनौं । सबै तयारी कागजमा मात्रै भयो, अस्पतालमा भएन ।’

चैत ११ गतेबाट सुरु भएको लकडाउनको मंगलबार ४२ दिन पुग्दै छ । अबको दुईदेखि तीन साताभित्र कोभिड–१९ को केस कति बढ्छ, त्यस आधारमा मुलुकको भविष्य निर्धारण हुने उनले औंल्याए । ‘डेढ महिनादेखि अन्तर्राष्ट्रिय नाका बन्द छ तर संक्रमण भित्रभित्रै फैलिरहेको छ, यो संक्रमणको विस्तार अझ केही सातापछि मात्रै स्पष्ट हुन्छ,’ उनले भने । अन्य मुलुकजस्तै नेपालमा एक्कासि संक्रमितको संख्या बढ्न सक्ने उल्लेख गर्दै चिकित्सकहरूले त्यसलाई नियन्त्रण गर्न सतर्कता अपनाउनुपर्ने बताएका छन् । नेपालगन्जमा संक्रमण समुदायमा सरिसकेकाले अन्य क्षेत्रमा पनि बढ्न सक्ने उनीहरूको विश्लेषण छ ।

‘हामीले लकडाउन खोल्नु वा खुकुलो पार्नुअघि भएका कमजोरी पहिचान गरेर त्यसलाई समाधान गर्नुपर्छ,’ कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संगीता मिश्रले भनिन्, ‘हालको अवस्थामा लकडाउन खुकुलो पार्दा एक्कासि देखिन सक्ने जटिल स्थितिको आकलन गरी त्यसलाई समाधान गर्ने प्रभावकारी रणनीति बनाएर मात्र अगाडि बढ्नु आवश्यक छ ।’ मुटु रोग विशेषज्ञ एवं फिजिसियन डा। ओममूर्ति अनिलका अनुसार अहिले अधिकांश स्वास्थ्यकर्मी लकडाउन खुकुलो भएपछिको स्वास्थ्य स्थितिबारे चिन्तित छन् । ‘हामीले यो समयमा चिकित्सा क्षमता बढाउन जे जति काम गर्‍यौ त्यसले लकडाउन खुकुलो पार्दा ढुक्क हुने स्थिति छ ?’ उनको प्रश्न छ, ‘के हामी १५ लाख व्यक्तिलाई उच्चस्तरीय श्वासप्रश्वासलगायत विभिन्न जटिलताको चिकित्सा सेवा दिन सक्छौं ?’

चुस्त ट्रेसिङ संक्रमणको विस्तार रोक्ने र भविष्यमा यसलाई नियन्त्रित गर्ने महत्त्वपूर्ण माध्यम भए पनि यसलाई व्यापक बनाउन नसकिएको उनको बुझाइ छ । संक्रमित व्यक्तिसँगको घुलमिल र निकटता पहिचान गरेर यसको विस्तारलाई नियन्त्रित र निगरानी गर्ने प्रक्रियालाई उच्च महत्त्व दिनुपर्ने उनले औंल्याए । ‘ट्रेसिङमा हामी कहीँ चुकिरहेका छौं, नेपालगन्जको घटनाले त्यही देखाइरहेको छ,’ डा. मिश्रले भनिन्, ‘हामीले अझै कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ, क्वारेन्टाइनबाट कोही भाग्यो भने त्यही समय ट्रेसिङ गर्नुपर्छ ।’

विशेषज्ञहरूले ट्रेसिङमा हाल देखिएका कमजोरी सच्याउँदै पीसीआर परीक्षणको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए पनि अपेक्षित रूपमा बढ्न सकेको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार सबै प्रदेश गरी १७ ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ । ‘पीसीआर अझै हुनुपर्ने जति भएको छैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीले भने, ‘पीसीआरको किट उपलब्धतासमेत सुनिश्चित छैन, कसैसँग भीटीएम छैन भने आवश्यक सामग्री दिन सकेका छैनौं, स्वास्थ्य सामग्री आपूर्ति पनि बढाउनुपर्छ ।’

लकडाउन खुकुलो बनाउने तयारी

अहिले मुलुकको वास्तविक स्थिति थाहा पाउने गरी पीसीआर परीक्षण नभएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा पूर्वनिर्देशक डा. बाबुराम मरासिनीको बुझाइ छ । हरेक परिवारबाट एक जनाको पीसीआर परीक्षण गर्ने अवधारणा राम्रो रहेको उनले बताए । मुस्लिम समुदायमा संक्रमण बढी देखिएको अवस्थामा त्यो समुदायमा व्यापक रूपमा र बाहिरबाट आएका सबै व्यक्ति, परिवार तथा सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गर्नु जनस्वास्थ्यका दृष्टिले महत्त्व हुने डा. मिश्रले बताइन् ।

दिनहुँ ३ हजार नमुनाको पीसीआर परीक्षण गर्न सक्नुपर्ने डा. मरासिनीको भनाइ छ । डा. ओममूर्तिले भने जटिल परिस्थितिमा दिनहुँ ५ हजारसम्म पीसीआर परीक्षण गर्न सक्ने पूर्वाधारसहितको क्षमता सुनिश्चित हुनुपर्ने बताए । ‘भोलि संक्रमणको दर कुन स्तरले अगाडि बढ्छ, हामी अहिले नै आकलन गर्न सक्दैनौं तर विश्वका विभिन्न मुलुकको अवस्था र हाम्रो जनसंख्यालाई ध्यान दिँदा अधिकतम ५ हजार जनासम्मको परीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । दक्षिण कोरियाले परीक्षण गरेकै भरमा लकडाउन नगरी कोभिड–१९ नियन्त्रण गरेको कुरामा ध्यान दिनुपर्ने उनले औंल्याए ।

२४ घण्टामा नयाँ संक्रमित देखिएनन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २४ घण्टामा कोभिड–१९ का नयाँ संक्रमित नभेटिएको जनाएको छ । हालसम्म मुलुकमा ७ वर्षदेखि ८१ वर्ष उमेरसम्मका ७५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५८ जना पुरुष र १७ जना महिला छन् । संक्रमितमध्ये ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १६ जना निको भइसकेका छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा १७, सुदूरपश्चिममा ५ जना छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमित देखिएको छैन । मुलुकमा सोमबार २४ घण्टामा २२६ वटा नमुनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरि १३६४० नमुनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै द्रुत परीक्षण किट (आरडीटी) बाट सोमबार ११५७ नमुना परीक्षण गरिएको छ । अहिलेसम्म आरडीटीबाट ५०८४५ नमुना परीक्षण सम्पन्न भएको छ । देशभरिमा २१५२३ जना क्वारेन्टाइनमा छन् भने उपत्यकामा एक जना र उपत्यकाबाहिर १०५ जना गरी जम्मा १०६ जना आइसोलेसनमा छन् । कान्तिपुर दैनिक