१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलाबखत किन भड्किन्छन् शेखर ?



अ+ अ-

काठमाडौं । हिजो बिहानै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी बैठक बस्यो । बैठकमा डा‍. शेखर कोइरालालाई देउवाबाट नै बोलावट भयो । तर उनी पुगेनन् । देउवाले पछि पनि खोजी गरे तर शेखरले आफ्नो परिवार विरामी भएकाले आउन नमिल्ने जानकारी गराए ।

बैठक सकियो, नेपाली कांग्रेसका सांसदहरुको हस्ताक्षर संकलन गर्ने कुरा भयो । त्यतिबेला सम्म उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने भन्ने विषयको कुरा उठेको थिएन । पछि मिडियामा सबैतिर यो समाचार आयो कि उपसभामुख रानामगरलाई महाअभियोग लगाउने निर्णय भयो भनेर । एमाले र कांग्रेसका सांसदहरुले अनलाइन मिडियामा यो समाचार छ्यापछ्याप्ती दिन थालिहाले । त्यसपछि कसैले यो समाचार रोक्न सकेनन्, सबैतिर आयो ।

त्यसपछि दिउँसो फेरि अर्काे समाचार आयो शेखरले अमेरिकामा रहेकी रानामगरलाई फोन गरेर तपाइँ ढुक्क हुनु, तपाइँलाई हटाउने खेलमा म संलग्न हुन्न भनेर फोन गरेको । यो समाचारले कांग्रेसभित्र हलचल पनि मच्चियो । त्यसपछि सो समाचारको सत्यता पुष्टि गर्न बुढानीलकण्ठ निवासबाट शेखरलाई नै फोन गरेर बुझ्ने प्रयास भयो । उनी सम्पर्कमा आउन चाहेनन् ।

यसले पनि कांग्रेसीजनमा दुई खाले मतमा बहस भयो कि उनको यो फोनले केही फरक पर्दैन भनेर । एकथरिले भने उनले नेताले जस्तो सार्वजनिक अभिव्यक्ति दिने गरेका छैनन्, पहिले पनि रमेश लेखकलाई विपक्षी दलले भन्दा पनि पहिल्यै राजीनामा दिनुपर्छ भनेका थिए, रामहरि खतिवडालाई पनि त्यसै भनेका थिए । त्यसैले उनी पार्टीभित्रैका प्रतिपक्ष भएकाले उनको यो आग्रहले कुनै अर्थ राख्दैन फोन गर्नुपर्दैन भनेका थिए ।

तर संस्थापन पक्षीय कांग्रेसले भने उनले नै फोन गरेका हुन् कि होइनन् बुझ्नुपर्छ भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताइरहे । तर पनि उनी सम्पर्कमा आएनन् । सायद त्यो कुरा उनले थाहा पाएर पनि हुनसक्छ साँझ एक मिडियामा उनले त्यो फोन आफूले गरेको नभएर इन्दिराले नै गराएको भनेर समाचार लेखाए ।

पछि उनकै अडान या फोनले त होइन तर इन्दिरा देशबाहिर रहेकाले उनी आएपछि मात्र यो महाअभियोगको प्रस्ताव गर्ता गर्ने भनेर यो अभियान स्थगित भएको थियो । भोलि यो अभियान पुनः सुरु हुन्छ या हुदैन पछिको कुरा हो ।

तर अहिले कांग्रेसीजन भित्र शेखर किन यसरी समय समयमा भड्किन्छन् भन्ने विषयमा चर्चा हुने गरेको छ । उनी प्रायः पार्टी बैठकमा जाँदैनन् तर पनि बाहिर भने विपक्षीले भन्दा पनि बढी पार्टीको र पार्टीको निर्णयको विरोध गर्छन् ।

यसले उनकै अर्थात् उनैले नेतृत्व गरेको समूहलाई पनि झस्काउने गरेको छ । उनीहरुले पार्टीभित्रको विषयमा यसरी पार्टीलाई नै घाटा हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिनेले भोलिका दिनमा पार्टीको नेतृत्वमै उनी आए भने पनि पार्टी कसरी अघि बढ्न सक्ला भनेर प्रश्न गर्ने गरेका छन् ।

पार्टीका आन्तरिक कुराहरुलाई पार्टीभित्रै छलफल नगरी, आफूले धारणा नै नराखी सार्वजनिक रुपमा बोलिदिने र उनको पछि पछि लागेर उनको प्रवक्ताका रुपमा सांसद सुनिल शर्माले पनि बोलिदिने प्रवृत्तिले पार्टीका पुराना नेता एवं उनी पक्षका सांसदहरुले पनि अप्ठेरो मान्ने गरेका छन् । राणा शासनदेखि राजाका विरुद्धमा लडेर गणतन्त्र स्थापनासम्मको नेतृत्व गरेको मुलुकको सबैभन्दा पुरानो र ठूलो प्रजातान्त्रिक दल कांग्रेसजस्तो पार्टीको नेतृत्व लिन खोज्ने व्यक्ति यसरी पार्टीभित्रकै विषयमा हल्का रुपमा प्रस्तुत हुने प्रवृत्तिले भोलिको पार्टी कस्तो होला र उनकै नेतृत्वमा पार्टी कहाँ पुग्ला भन्ने प्रश्न गर्न थालेका छन् ।

तर उनले दिने पार्टीको निर्णय विपरीतका अभिव्यक्तिहरुमा पार्टी सभापति शेरबहादुर देउवाले भने खासै गम्भीर रुपमा लिने गरेका छैनन् । उनले यस विषयमा शेखरलाई बोलाएर सोध्ने या जानकारी पनि लिने गरेका छैनन् । सायद पार्टी सभापतिको यो मौनताको फाइदा उनले लिएका हुनसक्छन् ।