२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा



अ+ अ-

कैलाली। कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

गेटा आँखा अस्पताल र सोही अस्पतालअन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट दुई लाख ८० हजार १५ जनाले आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीले ओपिडी सेवा लिएको गेटा आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गोविन्दप्रसाद जोसीले जानकारी दिनुभयो । जसमध्ये २२ हजार २७३ जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

आँखा अस्पतालले सुदूरपश्चिमका नौवटै जिल्लामा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो । त्यस क्रममा १८ वटा सर्जिकल क्याम्पहरू सञ्चालन गरिएकामा ओपिडी सेवा लिएका १० हजार ५७३ जनामध्ये दुई हजार ५२ जना आँखासम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सूचना अधिकारी जोसीले बताउनुभयो ।

त्यस्तै २१७ वटा ‘स्पोट स्क्रिनिङ क्याम्प’ गरेर २३ हजार ८६५ जनाको आँखा जाँच गरिएको थियो । जोसीले भन्नुभयो, “तीमध्ये अस्पतालले मोतिया विन्दुलगायत अन्य भेटिएका बिरामीलाई गेटा आँखा अस्पतालमा ल्याएर शल्यक्रिया गरेका थियौँ ।”

गेटा आँखा अस्पतालले गत आवमा विद्यालय आँखा जाँच कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस क्रममा ४०८ वटा विद्यालयमा गएर ८६ हजार ६४३ जना बालबालिकाको आँखा जाँच गरेको उहाँले जानकारी दिनुभयो । आँखा जाँच गर्दा केही बालबालिकाको दृष्टिमा समस्या देखिएका र चश्मा लगाउनुपर्नेहरू एक हजार २८० जनालाई निःशुल्क चश्मा वितरण गरेको उहाँको भनाइ छ ।

अघिल्लो आव २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जना आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी सेवा लिएको अस्पातलले जनाएको छ । अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचार निरन्तर प्रवाह भइरहेको छ ।

गेटा आँखा अस्पतालमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत आँखा उपचारका लागि बिरामी आउने गरेका छन् । अस्पतालको उपचार सेवाप्रति विश्वास हुनुका साथै गुणस्तरीय सेवा प्रवाह भएकाले पनि लामो समयदेखि आँखा उपचारको लागि भारतीय मूलका नागरिक यहाँ आउने गरेका छन् ।

पछिल्लो समय भने भारतको पलियालगायत स्थानमा आँखासम्बन्धी अस्पताल खुलेपछि पहिलेको तुलनामा भारतीय बिरामीको चाप केही घटेको सूचना अधिकारी जोसीले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखासम्बन्धी ओपिडी सेवा लिने नेपालीभन्दा भारतीय बिरामीको सङ्ख्या कम भए पनि शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या भारतीय नै बढी हुने गरेका छन् ।” रासस