सप्तरी । सप्तरीमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप ११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार मृतक महिलामा अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो ।
अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनलाई १० दिनदेखि ज्वरो खोकी र श्वासप्रश्वासको समस्या हुँदापनि स्वाब परीक्षण नगरिएको परिवारका सदस्यले गुनासो गरेका छन् ।
गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन् । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । महिलाको स्वाब लिने तयारी भएको बताइएको छ ।