२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र उद्योगलाई बचाउन यस्ता छन् नायक सोहितका उपाय



अ+ अ-

काठमाडौं । नायक एवं चलचित्र निर्माता तथा हल सञ्चालक सोहित मानन्धर इन्जिनियर पनि हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि आवद्ध सोहित कोभिड-१९ को विश्वव्यापी महामारी र नेपालमा लकडाउन सुरु हुनुपूर्व चलचित्र निर्माण र अभिनयमा व्यस्त थिए । बन्दाबन्दीका कारण थुनुवा जस्तै बनेका सोहित घरमै बसेर नेपाली चलचित्र क्षेत्रको भावी अवस्था र पुनरुत्थानका बारेमा इञ्जिनियरिङ ग्राफ तयार पार्ने काममा जुटेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार मन्त्रालयमा अन्तरवार्ता दिने क्रममा मानन्धरले नेपाली चलचित्र क्षेत्रलाई आगामी दिनमा नयाँ रुपमा पुनरुत्थान गर्नुपर्ने बताएका थिए । नेपाली चलचित्र उद्योगसहित यसमा आवद्व निर्माता,निर्देशक, कलाकार, प्राविधिक सहित सबैलाई राहत पुग्नेगरी कार्ययोजना ल्याउनुपर्नेमा उनको जोड छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटमार्फत् चलचित्र उद्योगको पुनरुत्थानको आर्थिक विशेष योजना ल्याउनेमा सोहित आशावादी देखिएका छन् ।

सोहितले आर्थिक योजना आन्तरगत सरकारलाई थप भार नपर्नेगरी आगामी वर्षदेखि नेपाली चलचित्रहरुमा पनि विकास शुल्क लगाउनुपर्ने बताएका छन् । चलचित्र क्षेत्रसँग सरोकारराख्नेहरुसँगको छलफल पछि नेपाली चलचित्रहरुमा पनि विकास शुल्क लगाउनुपर्ने सोहितको भनाई छ । 

नेपाली चलचित्रमा पनि विकास शुल्क लागु गरिए नेपाली चलचित्रको लगानी र आम्दानीमा पारदर्शीता आउनुका साथै बक्सअफिसलाई अझै सहज हुने सोहितको दाबी छ । साथै विकास शुल्क राखेर बन्ने कोष मार्फत् नेपाली चलचित्र तथा कलाकारहरुको बिमा तथा देशी तथा विदेशी लगानीकर्ताहरुसँग बैकिङ कारोबारको ग्यारेन्टी गर्न सकिने सोहितको तर्क छ । साथै कलाकारहरुलाई भैपरी आउने समस्या व्यवस्थापनमा पनि सहज हुने सोहितको दाबी छ ।

बन्दाबन्दीका कारण लामो समय चलचित्र क्षेत्रमा संकट पर्ने भएकाले चलचित्र हलहरुको बिजुली, पानी, टेलिफोनसहित बैंकको किस्ता लगायतमा सहुलियतमा सहज गर्नका लागि सैद्वान्तिक व्यवस्था गर्न पनि सरकारसँग सोहितले माग गरेका छन् ।

लकडाउनपछिको कोभिड-१९ को अवस्थाले नेपालको पहिचान र वास्तविक अवस्थाको मुल्यांकन गरि विदेशी चलचित्रहरुको छायंकन लगायतका गतिविधि नेपालमा बढाउनेगरी योजना हुनुपर्नेमा सोहितले जोड दिएका छन् ।

नेपालको प्राकृतिक एवं धार्मीक तथा साँस्कृतिक सम्पदाहरुलाई विश्वव्यापी प्रचार र आयआर्जनका लागि पनि विदेशी चलचित्र छायंकनका लागि नेपालमा विशेष छुट सहितका व्यवस्था गर्नुपर्ने उनको भनाई छ । चीन र भारतको जनसंख्यालाई ध्यानमा दिएर नेपालमा ति देशका निर्मातालाई चलचित्र छायंकन र सहकार्यमा निर्माणका लागि प्रेरित गर्नेगरी बोर्डले नीति तय गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्योगको मान्यतापछि नेपाली चलचित्रमा रोजगारीका नयाँ अवसर समेत पैदा भएको बताउँदै सोहितले विदेशी चलचित्र निर्मातालाई नेपालमा छायंकनका लागि बोलाउन सकिए हजारौं युवाले यो क्षेत्रमा रोजगारीको अवसर पाउने भएकाले आफु अध्यक्ष भएमा यस खालको कार्ययोजना ल्याउने सोहितको दाबी छ ।

सरकारले तत्कालिन, मध्यकालिन र दिर्घकालिन सोच र योजनासहित चलचित्र उद्योगको विकासका लागि कार्ययोजना ल्याउनुपर्नेमा सोहितको जोड छ ।