४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

नयाँपुस्ता भन्दैमा सबै राम्रो र बुढ्यौली लाग्दैमा सबै गलत हुदैनन्: मन्त्री देउवा

नयाँपुस्ता भन्दैमा सबै राम्रो र बुढ्यौली लाग्दैमा सबै गलत हुदैनन्: मन्त्री देउवा
अ+ अ-

गण्डकी : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले ससाना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाको सरोकार विषयक संवाद कार्यक्रम’मा उहाँले आन्तरिक विवादलाई पार्टीभित्रै मिलाउनुपर्ने बताउनुभयो ।

“दलमा, सङ्गठनमा झगडा हुन्छ, तर त्यसलाई त्यहीभित्र मिलाउनुपर्छ, ससाना विषयमा चित्त दुखाएर पार्टी नै छाडेर हिँड्ने, नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ”, उहाँले भन्नुभयो, “परिवारभित्र पनि झगडा हुन्छ, तर कसैले घर छोडेर त हिँड्दैन, पार्टी पनि एउटा परिवार हो, झगडा भए पनि भित्रै मिलाउनुपर्छ ।” कांग्रेसकासामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै उहाँले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नुपर्ने बताउनुभयो । साना कुरामा पार्टीमा मनमुटाव गरेर बस्न नहुने उहाँको भनाइ छ ।

मन्त्री देउवाले राजनीतिमा धैर्यता र सकारात्मक सोच चाहिने भन्दै पद र अवसर नपाए पार्टी नै छोडेर हिँड्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो । पुराना दल र तिनका नेतालाई लिएर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले नयाँपुस्ता भन्दैमा सबै राम्रो नहुने र बुढ्यौली लाग्दैमा सबै गलत नहुने बताउनुभयो ।

“त्याग, बलिदान र सङ्घर्षबाट आएका पार्टीहरूलाई अवमूल्यन गर्ने, यो देश खत्तम भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, त्यसलाई चिर्न हामीले जनताप्रति गरेका वाचा समयमा पूरा गर्नुपर्छ”, मन्त्री देउवाले भन्नुभयो, “हाम्रा कार्यशैलीगत कमजोरी छन् भने सुधार्नु पर्छ, सुशासनमा ध्यान दिनुपर्छ ।” निजी स्वार्थ त्यागेर देश र जनताका लागि राजनीति गर्न कांग्रेसका अग्रज पुस्ताले सिकाएको उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा मन्त्री देउवाले देउवाले नेपालले अन्तरराष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताउनुभएको छ । उहाँले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तरराष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राख्नुभयो ।

सो विषयमा हालै अन्तरराष्ट्रिय न्यायिक अदालतमासमेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नु परिरहेको बताउनुभयो । “हामीलाई हानिनोक्सानी कोष दिनुपर्ने, बाढीपहिराले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौँ”, उहाँले भन्नुभयो, “नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ ।”

उहाँले जलवायु परिवर्तनले ठूलो चुनौती निम्त्याएको भन्दै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ ।

जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षरोपण गर्नुपर्ने, प्लाष्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले बताउनुभयो । मन्त्री देउवाले नेपाल भूराजीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको बताउनुभयो ।

स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको उहाँको भनाइ छ । “नेपालको आफ्नै परराष्ट्र नीति छ, विश्वसमुदायमा आफ्नै पहिचान छ, यसलाई विगतदेखि नै हामीले कायम गर्दै आएका छौँ, यो हामी सबैको गौरवको विषय हो”, मन्त्री देउवाले भन्नुभयो, “हाम्रो कूटनीति र अन्तरराष्ट्रिय सम्बन्धका कारण विदेशी मुलुकहरूले नेपाललाई उच्च सम्मान दिने गरेका छन् ।”रासस