६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवा क्षेत्रतर्फ होटलहरुको औसत क्षमता उपयोग घट्यो



अ+ अ-

काठमाडौँ । पछिल्लो समय नेपालमा पर्यटक आउने क्रम बढेपनि होटलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) घट्दै गएको सरकारी अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्ममा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटकको आगमन भएको छ । गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७ सय ६९ जना पर्यटकको आगमन भएको थियो तर नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार अघिल्लो आर्थिक वर्ष साउनदेखि पुषसम्मको तुलनामा होटलहरुको औसत क्षमता (अकुपेन्सी रेट) उपयोग घटेको अध्ययनले देखाउँछ ।

२०८०/८१ को साउनदेखि पुससम्ममा त्यस्तो उपयोग ४५.३० प्रतिशत रहेकोमा २०८१/८२ को सोही अवधिमा ४३.९३ प्रतिशत होटलहरुको औसत क्षमता उपयोग भएको अध्ययनले देखाउँछ ।

समीक्षा अवधिमा कोशी प्रदेशको होटलहरूको औसत क्षमता उपयोग सबैभन्दा धेरै ५९.२८ प्रतिशत रहेको छ भने सबैभन्दा कम लुम्बिनी प्रदेशको अकुपेन्सी रेट ३१.९२ प्रतिशत रहेको छ । तर कोशी प्रदेशको अकुपेन्सी रेट गत वर्षको भन्दा कमजोर हो । गत वर्ष त्यस्तो रेट ६७.४९ प्रतिशतसम्म पुगेको थियो । लुम्बिनी प्रदेशमा अघिल्लो आवको साउनदेखि पुससम्म अकुपेन्सी रेट २६.८४ प्रतिशत रहेको थियो । मधेस प्रदेशको अकुपेन्सी रेट हेर्ने हो भने घटेको छ । २०८०/८१ को ६ महिनामा ३५.३३ प्रतिशत अकुपेन्सी रेट रहेकोमा २०८१/८२ को पुससम्म ३३.६६ प्रतिशत रहका छ ।

बागमती प्रदेशको अकुपेन्सी रेट समीक्षा अवधिमा बढेको छ । २०८१/८२ को ६ महिनामा ५१.३८ प्रतिशत सो प्रदेशको अकुपेन्सी रेट छ । त्यसअघिको वर्षको सोही अवधिमा उक्त रेट ५०.६० थियो ।

यस्तै गण्डकी प्रदेशको अकुपेन्सी रेट समीक्षा अवधीमा घटेको छ । गण्डकीमा २०८०/८१ को साउन–पुससम्म ३३.०८ प्रतिशत रहेकोमा अर्को वर्षको सोही अवधिमा ३३.५८ प्रतिशतमा झरेको छ ।

कर्णाली प्रदेशको अकुपेन्सी रेट केही बढेको छ । २०८१/८२ को ६ महीनाको अवधिमा उक्त प्रदेशको अकुपेन्सी रेट ५८.३८ प्रतिशत रहेकोमा त्यसअघिको वर्षमा ५६.८९ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा होटलहरुको औसत क्षमता उपभोग (अकुपेन्सी रेट) घटेको छ । २०८०÷८१ को साउन–पुषसम्म ४५.८६ प्रतिशत रहेकोमा अर्को वर्षको सोही अवधीमा ३९.३२ प्रतिशतमा झरेको छ ।

औद्योगिक क्षेत्रमा चुनौति बढ्यो

राष्ट्र बैंकले आफ्नो अध्ययन प्रतिवेदनमा पछिल्लो समय चुनौतिहरु बढेको समेत निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई तिब्रता दिनु, स्वदेशी उत्पादनका लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनु चुनौति रहेको उल्लेख गरिएको छ भने औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कृषिजन्य तथा अन्य औद्योगिक उत्पादनको लागि आवश्यक कच्चा पदार्थको आन्तरिक उत्पादन वृद्धि गरी समग्र औद्योगिक उत्पादन वृद्धि गर्नु चुनौतिपूर्ण रहेको देखाइएको छ ।

राष्ट्र बैंककाअनुसार औद्योगिक क्षेत्रमा अहिले अत्यावश्यक कच्चा पदार्थको आपूर्ति सहज गर्नु चुनौतिपूर्ण छ भने उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्नु, औद्योगिक पूर्वाधार एवं मानव संसाधनको विकास गर्नु, स्वदेशी श्रमशक्तिको दक्षता अभिवृद्धि गर्नु, जनशक्ति पलायनको क्रमलाई रोकी उद्योगतर्फ आकर्षित गर्नु चुनौतिपूर्ण देखिएको छ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षित गर्नु, निर्यातयोग्य वस्तुहरूको विविधीकरण गर्नु, स्वदेशी उत्पादनको गुणस्तर वृद्धि गर्नु, बढ्दो आयातका कारण स्वदेशी उद्योग प्रतिस्थापन हुनबाट संरक्षण गर्नु तथा उद्योगहरूबाट निस्कने फोहर तथा प्रदुषणबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरलाई कम गर्नु समेत उद्योग क्षेत्रमा देखिएका प्रमुख चुनौतिका रुपमा औँल्याइएको छ ।