सिन्धुपाल्चोक । अविरल वर्षाका कारण पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।
शनिबार बेलुकीको वर्षाका कारण पहिरो गएको हो । माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा सडक थुनिएको हो । महभीरमा सडक भास्सिएको छ ।
चरिकोट सडक डिभिजन कार्यालयका अनुसार तत्काल मोटरसाइकल र साना सवारीसाधन आउजाउ भए पनि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् ।
आइतबार जुरेमा बिजुलीको पोल ढलेका छन् । सडकमा खोला र लेदोको बाढी बगिरहेकाले पैदल हिँड्न पनि मुस्किल बनाएको छ ।
पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय प्रभावित भएका छन् ।
यी ठाउँका लागि गुडेका सवारीसाधन पहिरोछेउ थन्किएका छन् । तातोपानी नाकाबाट सामग्री बोकेर काठमाडौं पुर्याएर फर्केका कन्टेनर जुरेभन्दा केही पर रोकिएका छन् ।










