आज नेपालका लागि ऐतिहासिक दिन । दशकौँदेखि गुमेको र एक किसीमले भन्दा खोसिएको आफ्नो भूमि सकुशल फिर्ताका लागि आज वैधानिक रुपमा प्रक्रिया थाल्ने अथवा दाबी गर्ने दिन । पश्चिम नेपालका भारतले अतिक्रमण गरेर कब्जा गरेका लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रका भूभागहरु समेटेर जारी गरिएको नेपालको वास्तविक नक्सा नेपालको संसदमा मतदान गरेर वैधानिक गराउने दिन । नेपालका गुमेका भूभागहरु समेटेर तयार पारिएको नक्सा बमोजिम नेपालको निशाना छापमा पनि संशोधन गरी नयाँ बनाउनका लागि आवश्यक संविधान संशोधन गर्न नेपालको संसदले आज व्यापक तयारी गरिरहेको छ । देशमा त्यस्तो कुनै भवितव्य परेन भने अबका केही घन्टामा नेपालको संसदले आफ्नो गुमेको जमिन प्राप्त गर्ने सबैभन्दा ठूलो वैधानिकता प्राप्त गर्नेछ । यस प्रयोजनका लागि देशका सबै राजनीतिक दलहरुमा अभूतपूर्व एकता देखिएको छ । संविधान संशोधनको पक्षमा मतदान नगर्ने त होइनन् भनी आशंका गरिएका राजनीतिक शक्तिहरुले पनि संगठित रुपमा निर्णय गरेर एकता प्रदर्शन गरिसकेका छन् ।
भारत दक्षिण एसियाको जनसंख्या, भूगोल, अर्थतन्त्र आदिका हिसाबले ठूलो देश हो । ठूलो हुनु या बन्नु भनेको सानोलाई माया गर्नु या भरथेग गर्नु प्रकृतिको नियम नै हो । तर प्रकृतिको यो नियमको पालना गर्ने ठूलो मन भारतले दक्षिण एसियाली छिमेकी मुलुकहरुमा कहिल्यै देखाएन । यो अहिले हामी हेपाईमा परेर उसलाई लगाएको दोषारोपण होइन कि नेपालबाहेकका अरु देशसँगको उसको व्यवहार पनि त्यस्तै छ । कुनै छिमेकीसँग उसको राम्रो सम्बन्ध छैन । पाकिस्तानको त कुरै भएन उनीहरुका शब्दमा फुटेर गएको पर्यो । बंगलादेशसँग पनि भारतको सीमाकै सम्बन्धमा गडबडी छ । गंगाको पानी बाँडफँडको विषयमा उनीहरुका बीच विवाद छ । श्रीलंकासँगको नराम्रो सम्बन्धले नै महामत्मा गान्धीदेखि राजीव गान्धीसम्मका हत्याका नराम्रा घट्ना भएको इतिहास भारतीय इतिहासकारहरुले नै जोड्ने गरेका छन् । सानो देश मालदिभ्समा ठूलो राजनीतिक उथलपुथलका पछाडिको कारक खोज्दा पनि नयाँ दिल्ली नै पुग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । भूटानको राजनीतिक, आर्थिक र सामाजिक नियन्त्रणको चाबी केही अघिसम्म भारतले नै बोकेर बसेको थियो । पछिल्ला एकाध वर्षमा उसले भनेको नेतृत्व त्यहाँको राजनीतिमा नउदाएपछि चीनसँग जोडिएको आरोप पनि उनीहरु नै लगाउँछन् । बाँकी रह्यो नेपाल । नेपाल भारत सम्बन्धका आयामहरुका केश्रा केलाउने जो कोहीले पनि नेपाल भारतबाट नहेपिएको, नपेलिएको इतिहास र वर्तमान कुनै पनि भेटाउँदैन । पहिलेका यी दुई देशका अनेकन सन्धीदेखि अहिलेका सम्झौताहरुसम्म पनि भारतले नेपालको हात तल पार्ने मात्र ध्याउन्न राखेको देखिन्छ । सुगौली सन्धी हुन् या अहिलेका विविध सम्झौता नै किन नहुन् । छिमेकमा भएपछि आँठो जोडिन्छ, कुम ठोक्किन्छ । यी यस्ता विविध विषयको व्यवस्थापन गर्नैपर्ने बाध्यता हुन्छ । तर जब जब सन्धी या सम्झौता या समझ्दारीका लागि दुई पक्ष बस्नुपर्छ तब भारतले बडे भाइको व्यवहार देखाइहाल्छ । आँठो मिच्ने उसको सबैभन्दा ठूलो कमजोरी हो । त्यति ठूलो जमिनयुक्त देशलाई नेपालजस्तो उसको भन्दा थोरै क्षेत्रफल भएको देशको आँठो मिचेर किन दुःख दिन खोजेको हो भन्ने कुरा सुन्नेलाई पनि अचम्म लाग्छ । अहिलेको समस्या पनि यही हो । उसले वर्षौँदेखि हाम्रा यी भूभागहरु हडपेरै राख्यो । ती जमिन फिर्ता गर, त्यहाँबाट आफ्ना सेना फिर्ता लैजाउ भन्ने हाम्रो लाख विन्ती र लाख प्रयत्नहरु भए । तर सम्भव भएन । हुँदा हुँदा अहिले त उनीहरुले हाम्रै भूमिमा आएर बाटो नै बनाए । सहनुको यो भन्दा अर्काे हद थिएन । त्यसैले हामीले हाम्रो जमिन फिर्ताको कागजीबाटो समात्यौँ । बाँकी भौतिक उपस्थितिका कामहरु हुदै जानेछन् र यसका प्रयत्नहरु नेपाल सरकारले अघि बढाउँदै लैजाने नै छ । अहिलेको लागि वर्तमान सरकार र विशेषतः प्रधानमन्त्री केपी ओलीको यो प्रयत्न प्रशंसनीय छ ।
नेपाल यसै एकतर्फी नक्सा जारी गर्ने बाटोमा पुगेको होइन । पहिलेका र यही सरकारले पनि वार्ताका लागि निकै समयदेखि समय मागेकै हो । द्धिपक्षीय वार्ताको टेबलमा बसौँ र यी विषयहरुलाई टुंग्याऔँ भन्ने चाहना नै हो नेपालको । तर भारतले धेरै नै उपेक्षा गर्यो । वार्तामा बस्ने समय पनि दिएन । यता हामीले आफ्ना प्रमाणहरु पुर्याइ नै सकेका छौँ । हामीसँग भौतिक रुपमा कागजातदेखि देख्ने मानिसहरु नै छन् । हाम्रो हडपिएको त्यही ठाउँमा पुगेर जनगणना गरेर आएका भैरव रिसालजस्ता व्यक्तिहरुले आफ्ना प्रमाणहरु पेश गरिसकेका छन् । तर पनि भारत बोल्दैन । हुनत वार्तामा बसेपछि कागज बोल्यो भने आफूले लिँडेढिपी गर्न नपाइने भएर पनि वार्तादेखि भागेको होला । त्यो मनोविज्ञान हामीले नबुझेको पनि होइन । तर जे सुकै हास् यी दुई देशबीच रोटीबेटीको सम्बन्ध रहेका सदियौँदेखिका छिमेकी हुन् । त्यसैले पनि आगामी दिनमा वार्ता नै उत्तम उपाय हुनसक्छ । तर एउटा कुरा भारतले के बुझ्नसक्नुपर्छ भने भूगोल र जनसंख्याले कुनै पनि देश सानो हुने होइन । त्यसो हुने भए आज विश्वका नागरिकको मुखमा सिंगापुरको नाम यसरी झुण्डिने नै थिएन । सिंगापुरको जनसंख्या र भूगोल सबैलाई थाहै छ । अर्काे कुरा त्यस देशले कत्तिको वीरताको इतिहास बोकेको छ भन्ने पनि हेक्का राख्नुपर्दछ । हामी भारतीयजस्तो कुनै विदेशी साम्राज्यको छायाँमा कहिल्यै परेनौँ । हाम्रा वीर र वीरताले जोगाएको देश हो यो । बरु हाम्रै वीर गोरखालीले भारतीयहरुको सीमा जोगाइदिएका छन् । अनि विगतका हिसाब खोज्ने हो भने त बेला बेलामा भारतमा हुने सिपाही विद्रोहहरुमा हाम्रै वीर गोरखाली गएर जोगाइदिएका छन् । त्यसैले यहाँसम्मका यति महत्वपूर्ण हाम्रा सम्बन्धहरुलाई कायम राख्न पनि आज नेपालको संसदले पास गर्ने नयाँ नक्साबमोजिमको जमिनमा भारतीय उपस्थिति हटोस् र यसका लागि टेबुल वार्ताको प्रक्रियाको थालनी छिट्टै होस् ।