काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रश्नैप्रश्न गरेका छन् । उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको प्रगतिसमेत मागेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले एकवर्ष अघि नेकपा एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे सभापति देउवासँग प्रश्न गरेका हुन् । उनले एमालेलाई सरकारको नेतृत्व दिएर कांग्रेसले गल्ती गरेको समेत बताए । ‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ कोइरालाले प्रश्न गरे, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’
नेता कोइरालाले एमालेसँग २०८१ असार १७ गते राति भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको विषयमा भएको प्रगतिबारे पनि सभापति देउवासँग जवाफ मागेका छन् । ‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?,’ कोइरालाले प्रश्न गर्दै भने, ‘सभापतिज्यूले यसको चित्त बुझ्ने जवाफ दिनुपर्छ ।’
उनले प्रतिनिधिसभा निर्वाचन ०७९ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर अहिले एमालेसँग सहकार्य गरिनुको कारणबारे पनि प्रश्न उठाए । ‘०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ । अहिले एमालेसँग सरकारमा छौँ,’ नेता कोइरालाले प्रश्न गरे, ‘त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?’
केन्द्रीय समिति बैठकमा कोइरालाले अन्य केही पेचिला प्रश्न पनि उठाएका छन् । उनले मंसिरमा महाधिवेशन हुनुपर्ने र नहुने हो भने सभापति र पदाधिकारीले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
उनले पार्टीको अनुशासन समितिसँग पनि केही प्रश्न राखेका छन् । ’अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्युले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ । के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यु यसको जवाफ चाहियो ।’ उनले अनुशासन समिति कमजोर भएको बताउँदै कारबाहीका लागि भएका सिफारिसमा चिठीसम्म काट्ने काम पनि समितिले गर्न नसकेको आरोप लगाएका छन् ।
कोइरालाले पार्टीले विगतमा गरेका निर्णयमा पनि प्रश्न अघि सारेका छन । उनले भनेका छन्, ’विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’
उनले सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति सर्लाहीमा जिल्ला सभापति पदमा बस्न मिल्ने हो कि होइन भनेर पनि सोधेका छन् । उनले भनेका छन्, ’के कारणले उहाँलाई हटाइएको छैन ? यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यु र पदाधिकारीले बुझ्नुभएको छ ?’










