काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताउनुभएको छ ।
संसदीय सुनुवाई समितिको बैठकमा सोमवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्यायालयप्रति आम जनताको भरोसा करिव करिव टुट्न खोजेको स्थिति रहेको बताउनु भयो । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईंका योजना के छन् ? भन्दै प्रश्न गर्नुभयो । न्यायाधीशहरुको भुमिकाहरुप्रति नै आम नागरिकहरुले प्रश्न उठाउने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिव करिव टुट्न खोजेको छ । त्यसमा जिम्मेवार कारण धेरै होलान् त्यसमध्ये एउटा न्यायाधीशहरुको भुमिकाहरुप्रति नै गम्भीर प्रश्न छ । उहाँहरुको आचरण, न्याय सम्पादनमा विचलनका कुराहरु, यि विषयहरु छन् । यहाँले भोलि यस प्रकारका टिप्पणीहरु पुनः नआउन् भनेर कसरी अघि बढ्नुहुन्छ । पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ ?’
प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरुले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताउनु भयो ।










