न्यूजपोलार ए.आई.
- २०७८ पुस २९ को चिसो बिहानीमा हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्म दिएकी सातौँ छोरी हुन स्तुति ।
- अकस्मात गौराको मुखबाट बाक्य निस्कियो– पर लैजाउ । त्यसपछि उनी अर्कातिर (दाहिनेतिर) मुन्टो फर्काएर सुतिन् ।
- ३२ वर्षको उमेरमा कुनै महिलाले जन्माएका सात सात सन्तानको अवस्था कस्तो होला ?
- तुलसालय तुलसी फाउन्डेसनद्धारा सञ्चालित अनाथ आश्रम हो ।
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखि दियो
चलचित्र चिनोको लागी, तुलसी घिमिरेको रचना, रणजीत गजमेरको संगीत र नारायण गोपालको स्वर रहेको गीत जस्तै छ हुम्लाकी स्तुतीको जिन्दगी पनि । २०७८ पुस २९ को चिसो बिहानीमा हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्म दिएकी सातौँ छोरी हुन स्तुति ।
त्यो ठाउँमा सुत्केरी गराउन अस्पताल जान कहाँ पाउनु ? सातै सन्तान घरैमा जन्माइन् गौराले । सुत्केरी गराउन सहयोग गरिरहेका साथैमा रहेका अरु महिला (सायद सुडेनी) लाई गौराले सोधिन् के जन्मियो ? उनीहरुले जबाफ दिए‐ उही हो, छोरी ।
यो सुन्ने बित्तिकै प्रशव वेदनाको ओछ्यानमा पल्टिरहेकी गौराको मुख अमिलो भयो । किनभने उनको परिवारको चाह थियो छोरा । सातौँ सन्तान पनि छोरी नै भएपछि सायद उनको मनमा झट्का लाग्यो होला । अनि अकस्मात गौराको मुखबाट बाक्य निस्कियो– पर लैजाउ । त्यसपछि उनी अर्कातिर (दाहिनेतिर) मुन्टो फर्काएर सुतिन् ।

यता शिशुको धोइपखानी भयो । घरमा भएको याथासक्य न्यानो कपडाले नानीलाई बेरबार भयो । केही मिनेटजति पछि बच्चा स्वभावत: आमाको दूध खान रोयो, अनि आमा भएसामू ल्याए ।
यो पनि पढ्नुहोस- स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’
घर वरिपरिकै दिदीबहिनीहरुले गौरालाई उठ्न भने । पटक पटक बोलाए । अहँ उनले सुनिनन् । तल्लो घरकी दिदीले गौराको हात समातेर हल्लाइन् । उनी अझै बोलिनन् । सबै भएर उठाउन खोजे र ओछ्यानबाट यसो उठाए ।
उनी कोल्टे फेरेर सुतेकै अवस्थामा मुन्टो दायाँ नै थियो । होस थिएन । लौन के भयो भन्दै उनीहरुले यताउति गरे अनि घर र वरपरका पुरुषहरुलाई खबर गरे । अस्पताल लैजाने कि भन्ने भयो । तर त्यतिबेलासम्म गौराले प्राण त्याग गरिसकेकी थिइन् ।
उनले दाहिने फर्काएको मुन्टो कहिल्यै सीधा बनाइनन् । सातौँ सन्तानका रुपमा पनि छोरी नै जन्मिएको केही मिनेटमै यो संसारबाट बिदा लिइसकेकि रहिछन् । छोरीलाई परै राख्नु भनिन्, उनको मुहारै हेरिनन् (देख्न पाइनन्) । र तिनै छोरीसँग सदाका लागि विदा लिएर गइन् ।
सुत्केरी गराउन बसेका दिदीबहिनीहरु गौराले स्वेच्छाले देह त्याग गरेको भन्छन् । किनभने गौराको परिवार र उनी बसे बाँचेको समाजले यसपटक गौराको कोखबाट जसरी पनि छोरा खोजेको थियो । उनको देहले पनि त्यही चाहेको थियो ।
त्यसैले त उनले बच्चाको आवाज सुन्ने बित्तिकै के हो भनेर सोधिन् र हेर्न लगाइन् । जब छोरी जन्मिएको थाहा पाइन्, उनले परै लैजाउ भनिन् । किनभने छोरीको मुहार हेरेपछि उनलाई माया लाग्न सक्छ र प्राण त्याग गर्न गाह्रो पनि हुनसक्छ । त्यही परिवार र समाजका डरले उनको अन्तरमनले पनि छोरा नै खोजेको हुनुपर्छ । त्यसैले छोरीलाई परै राख्नु भनिन्, मुन्टो अर्कोतिर फर्काइन् र केही मिनेटमै सालनालैसित देहत्याग गरिन् ।
लाग्छ यो गौराको नभएर गौरा बसे हुर्केको समाजको गल्ती हो । त्यसो त कुनै मेसिनले जस्तै वर्षेनी सन्तान उत्पादन गरेर सात सात ओटा छोरी जन्माउनुमा पनि छोराकै चाह देखिन्छ । त्यो समाजले गौरा र गौराजस्ता आमाहरुलाई बारम्बार छोरा जन्माउन दबाब दिएको पनि हुनसक्छ ।
त्यसो नहुँदो हो त गौरालाई यतिचाँडै प्राण त्याग गर्न कसरी सजिलो हुन्थ्यो ? लाग्छ उनले यति छोटो जीवनमा पाएका पीडाहरुको मापन गर्ने कुनै मेसिन छैन होला । उनको थामिनसक्नुको पीडाले नै उनले यो संसारबाट विदा लिनु परेको हो । आफूले चाहेजस्तै गरी देह त्याग गर्न उनलाई सजिलो भएको हो ।

गौराको घरको आर्थिक अबस्था निकै दयनीय थियो । उनीसँग छोराका लागि समाजले दिएको मानसिक पीडासँगै छोरीहरु हुर्काउन परेको दु:ख पनि छँदै थियो । अशक्त श्रीमान् र सातओटा लालाबालाको भविष्य । संसारबाट बिदा लिनुअघि उनको मानसपटलमा आएकै हुनुपर्छ यो दृश्य ।
भनिन्छ, दु:खको बेला पनि कोही त दैब बनेर पनि आउँछ । उनको जीवनमा काखकी सानी छोरीको मायाले भन्दा पनि भोलि उनीहरुले पाउन सक्ने दु:खले पिरोल्न सक्थ्यो । त्यसैले उनले प्राण त्याग गरेकी हुन् । यो अनुमान मात्र नभएर सत्यका रुपमा उनका आफन्तहरु अहिले पनि अथ्र्याउँछन् ।
अब सुरुभयो ती काखे शिशुको बिचल्ली । ३२ वर्षको उमेरमा कुनै महिलाले जन्माएका सात सात सन्तानको अवस्था कस्तो होला ? गरिब परिवार र अशक्त बाबु । नवजात शिशुलाई अब पालिदिने कुनै व्यक्ति या संस्थाको खोजी सुरु भयो । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले फेसबुक स्टाटसमा लेखे– हुम्लामा एउटी आमाले आफ्नो सातौँ छोरीलाई जन्म दिएको केही मिनेटमै मृत्यु भएको छ ।

सरु सुवेदीको तुलसालयले ती छ छोरीमध्ये सबैभन्दा कान्छी तीन छोरीलाई उद्धार गरी लालनपालन गर्ने तयारी गर्यो । त्यसअघि उनले बाँसको डोकोमा एक शिशुलाई थोत्रा थाङ्नामा सुताइरहेको बडो टीठलाग्दो, दयाजाग्दो फोटो पनि पोष्ट गरेका थिए । त्यसपछि ती शिशुको सहयोग र उद्धारका लागि सहयोगी हातहरु अघि आए । उपाध्यायले सूचित गरेजस्तै सरु सुवेदी पनि ती शिशुको उद्धार गरी तुलसालयमा राख्न तयार भइन् ।
त्यसपछि ती शिशुसहित दुई साना दिदीलाई लिन सरु नेपालगञ्ज पुगिन् । हवाई जहाजमा काठमाडौँसम्म ल्याउने कोही मनका धनीले टिकट काटिदिए । हुम्लाको अदानचुलीबाट डोकोमा बोकेर कोल्टी विमानस्थल हुँदै नेपालगञ्जम्म ल्याएको भाडा समेत गरी सबै खर्च सरुले व्यहोरिन् र केही सहयोगी मनको सहयोग त रह्यो नै । सरुले स्तुतिसहित तीन बहिनीलाई तुलसालय ल्याएर काठमाडौँ आईन । तुलसालयमै उनको न्वरान गरिन् । नाम राखिन् स्तुति ।
स्तुति जन्मिएको २० औँ दिनमा उद्धार गरी सरुले काठमाडौँ ल्याएकि हुन् । त्यतिबेला उनीसँगै उनकी चार र छ वर्षका दुई दिदी पनि तुलसालयमै ल्याइन् । अहिले पनि उनीहरु त्यहीँ छन् ।
“मेरी आमा पनि म १५ वर्ष हुँदा बित्नु भएको हो । टुहुरो जीवन कस्तो हुन्छ, मलाई राम्ररी थाहा छ । सरु भन्छि‐ यो छोरीलाई आमाको अभाव थाहा दिने छैन । यो मेरै छोरी हो । तुलसालयमा रहेका सबै नानीबाबुहरु मेरै छोराछोरी हुन् ।

यहाँका कतिपय बालबालिका पुनस्र्थापित पनि हुने गरेकाले यो संख्या समय समयमा घटबड भने भइरहन्छ । स्तुति नाम किन राख्नुभयो ? सरुको जवाफ छ– यो स्तुतिमार्फत् भगवानसँग मेरो स्तुति यो छ कि यो संसारमा स्तुति छोरीको जस्तो अवस्था कुनै पनि छोरीले व्यहोर्नु नपरोस् । अनि उनकी आमा गौराले जस्तो गरिबी र छोराको चाहमा यसरी प्राण त्याग गर्नु नपरोस् । त्यसैले मैले नै उनको नाम स्तुति राखेँ ।
उनै स्तुतीलाई सरु र उनको परिवारले आमाको माया र बाबुको स्नेह दिएका छन् । त्यसैले त एकदिन सुबेदीलाई नदेख्दा पनि स्तुतिले आँखा चारैतीर घुमाउँछिन् सरुको मुहार छान्छिन् । अहिले त सरु ठूली भइन्, तर उनलाई अहिले पनि सरु नै चाहिन्छ ।
अहिले भने स्तुति बिद्यालय जान थालेकी छिन् । उनलाई ललितपुरको जावलाखेलमा रहेको जेनेसिस एकेडेमीले नि:शुल्क पठन पाठनको व्यवस्था मिलाएको छ ।
जन्म दिने आमाको सामिप्यता गुमाएकी स्तुतिको बोलीबाटै आमा शब्द सुनेकी सरु भन्छिन्‐ सबै बाबुनानीको कथा कुनै न कुनै रुपमा स्तुतिको जस्तै छ ।
आमाको मायासँगै आश्रममा रहेका यी छोराछोरीलाई उनीहरुले पाउनुपर्ने माया र अधिकार दिलाउन लागि परेकी सरुको संघर्षले पनि धेरैलाई मोहित बनाउँछ ।

सरुको यो संघर्षलाई शब्दमामात्र उतार्न गाह्रो छ । तर सरकारले फर्केर नहेरेको बताउने सरुलाई भने आर्थिक समस्याले अब सताउन थालेको छ । सरकारका तर्फबाट आफूले कुनै सहयोग नपाएको उनको गुनासो छ । यी बालबालिकाको शिक्षाका लागि विद्यालयले त फि लिँदैन तर गाडीबाट स्कुल पुर्याउन, मानसिक रोग भएकाहरुको उपचार गर्न तथा यहाँका अरु बाआमाहरुको उपचार तथा लालनपालन गर्न अब आर्थिक समस्या पर्दै गएको सरु बताउँछिन् ।
तुलसालय तुलसी फाउन्डेसनद्धारा सञ्चालित अनाथ आश्रम हो । सरुकी आमा तुलसादेवी सुवेदीको क्यान्सरको रोगले ४४ वर्षको उमेरमा निधन भएको थियो । आफू १५ वर्षको हुँदा आमाको निधन भएपछि आफूले आमाको नाममा केही गरौँ भन्ने लागेर सरुले आमाको स्मृतिमा तुलसालयको स्थापना गरेकी हुन् ।
त्यसैले आमाकै नामबाट आश्रमको नाम पनि तुलसालय राखेकी हुन् । यो तुलसालयमा आश्रम लिइरहेका बालबालिकाको थर पनि मठ राखेकी छिन्, तुलसीको मठको नाममा ।










