काठमाडौँ । तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको झन्डै डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेका अध्यक्ष केदारनाथ शर्मासहित तीन जना दोषी ठहर भएका छन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको हो ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर सर्वसाधारणको रकम अपचलन गरेको आरोप लागेको थियो । बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप उनीहरुमाथि छ ।
सहकारीका अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको स्रेस्तामा नै नचढाई हिनामिना गरेको पाईएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अदालतमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख गरेको छ ।
यस्तै, सहकारीका सचिव, क्षेत्रीय प्रबन्धक लगायतलाई ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र तुलसी सहकारी संस्थालाई बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ भराई बिगो बमोजिम जरिमाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता भएको थियो।
उनीहरूलाई दोषी ठहर गरिए पनि दण्ड सजाय निर्धारण भने भोलीको सुनुवाइमा हुने छ । अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।







