९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्डफ्लु : काभ्रेमा नमूना सङ्कलन र निगरानी



अ+ अ-

काभ्रेपलाञ्चोक  । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडौँमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च सतर्कता अपनाउन विभिन्न गतिविधि गर्दै आइएको छ । 

जिल्लास्तरीय प्राविधिक समितिको बैठकले सबै स्थानीय तहलाई पशुपक्षीपालक कृषक तथा व्यवसायीलाई सजगता अपनाउन यससम्बन्धी विविध गतिविधि गर्न आग्रह गरेको छ । “सबै स्थानीय तहमा निगरानीका कामलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो । उहाँका अनुसार काठमाडौँ र छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि उपत्यकाको पूर्वी सीमानाका साँगामा रात्रिकालीन अवस्थामा परीक्षण व्यवस्थापनका लागि थप जनशक्ति व्यवस्थित गरी उच्च सतर्कता अपनाइएको छ । 

साँगामा चौबिसै घण्टा पशुपक्षीजन्य आयात–निर्यातमा सतर्कता अपनाउँदै नमूना सङ्कलन तथा निगरानी बढाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । साथै, सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल गर्न स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको केन्द्रका प्रमुख राजकुमार हुमागाईंले बताउनुभयो । 

हुमागाईका अनुसार जिल्लाको दक्षिण–पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा पक्षीजन्यको जाँच केन्द्र स्थापना गरिएको छ भने जिल्लाअन्तर्गत राजमार्ग जोडिने अन्य नाकामा निगरानी अपनाइएको छ । जिल्लाको विभिन्न स्थानमा बर्डफ्लुको नमूना सङ्कलन तथा परीक्षण गरिएकामा आइतबारसम्मको परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएको केन्द्रले जनाएको छ । केन्द्रले निगरानी बढाउँदै नमूना सङ्कलन तथा परीक्षणलाई निरन्तरता दिइरहेको हुमागाईंले बताउनुभयो । 
    
जिल्लाको १३ स्थानीय तहमध्ये बनेपा र पनौती नगरपालिकाले सङ्क्रमण रोकथामका लागि व्यवसायीसँग विशेष छलफल र सचेतना कार्यक्रम गरिसकेका छन् । गत माघ १६ गते मोरङको दुई स्थानमा देखिएको बर्डफ्लु सङ्क्रमण त्यसयता चितवन र राजधानी काठमाडौँ तथा उपत्यकाको भक्तपुरमा समेत देखिएको थियो ।