५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा कोरल्दै आगन्तुक चरा



अ+ अ-

चितवन । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् ।

‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु विँडारी वास्तविक तथ्याङ्क नभए पनि ६० देखि ८० प्रजातिका आगन्तुक चरा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यो मौसममा आएको बताउनुहुन्छ । ती चराले बच्चा कोरलेर आफूसँगै लैजाने उहाँको भनाइ छ । बच्चा उड्नसक्ने भएपछि भदौ र असोजमा ती चरा आफ्नो गन्तव्यमा फर्कने गर्दछन् ।

विश्वमा ११ हजारभन्दा बढी प्रजातिका चरा पाइने तथ्याङ्क छ । त्यसमध्ये ४० प्रतिशत हाराहारीले बसाइँसराइ गर्ने विँडारी बताउनुहुन्छ । उहाँका अनुसार यस क्षेत्रमा वर्षमा दुई पटक आगन्तुक चरा आउने गर्दछन् । जाडो र गर्मीमा ती चरा आउने गर्दछन् । जाडो छल्न आउने चराले यहाँ बच्चा कोरल्दैनन् । नेपालमा विश्वका अनेकौँ ठाउँबाट चरा बसाइँसराइका लागि आउने गर्छन् । जाडो मौसममा रसियाको साइबेरिया र मङ्गोलियाबाट नेपाल हुँदै भारतसम्म ती चरा पुग्ने उहाँले जानकारी दिनुभयो ।

गर्मीमा यहाँ आउने चरा भारत, श्रीलङ्का, दक्षिण–पूर्वी एशियाली मुलुक र अफ्रिकाबाट आउने गर्दछन् । यी चरा नदी तटीय, वन र घाँसे मैदानमा रमाउने गर्दछन् । विँडारीका अनुसार यो समयमा कोइली, स्वर्गचरी, सुनचरी र बकुल्ला प्रजाति धेरै हुने गर्दछन् ।

वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष विजय गिरी यो मौसममा सुन्दर प्रजातिका चरा आउने भएकाले यहाँ घुम्न आउने पर्यटकले चरा अवलोकन गर्न पाउने बताउनुहुन्छ । रुख र झाडीमा बनाइएका गुँडमा भर्खर कोरलेका चराका बच्चाहरु देख्न सकिने उहाँको भनाइ छ । फागुनदेखि यहाँ आएका आगन्तुक चराले बच्चा कोरले असोजसम्ममा फर्किसक्ने उहाँले जानकारी दिनुभयो । नेपालमा ९०० प्रजातिका चरा पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६५२ प्रजातिका चरा पाइने गरेका छन् ।