काठमाडौं । राइड सेयरिङलाई कानुनी मान्यता दिने गण्डकी प्रदेश सरकारको विरोधमा यातायात व्यवसायीले आज गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।
गण्डकी प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएपछि त्यसको विरोधमा व्यवसायीले गण्डकी प्रदेशभर सार्वजनिक सवारीका साधन नचलाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीमा सार्वजनिक यातायात सेवा थन्क्याएका व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिएका छन् ।
सार्वजनिक यातायात सेवालाई धराशायी बनाउने उद्देश्यले सरकार लागेको आरोप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
व्यवसायीको आन्दोलनले बिहानैदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेशभित्र ठप्प छ । सरकार निर्णयबाट पछि नहटेसम्म आन्दोलन जारी राख्ने चेतावनी व्यवसायीको छ ।
१६ गतेदेखि गण्डकी प्रदेशभित्र र १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी व्यवसायीको छ ।
संघीय कानुनको बर्खलाप सार्वजनिक यातायात सेवाको योगदानलाई बिर्सिएर सरकारबाट ढाड सेक्दै निजी नम्बर प्लेटलाई पनि सार्वजनिक यातायात सरह मान्यता दिइने काम निन्दनीय भएको आन्दोलन संघर्ष समितिले जनाएको छ ।
पर्यटकीय नगरी पोखराका सडक आज बिहानैदेखि सुनसान देखिएका छन् ।
गण्डकी प्रदेश सरकारले गत महिना ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमाली मन्त्रिपरिषदबाट पारित गर्दै राजपत्रमा प्रकाशित गरेको थियो । व्यवसायीले त्यसको विरोध गरेपछि सरकारले वार्ता समिति बनाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा १३ गते वार्ता समिति बनाएको हो । समितिले व्यवसायीले वार्तामा आउन आह्वानसमेत गरेको छ ।










