काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको रोष्ट्रममा सरकारलाई रोक्ने विपक्षी दलको गतिविधि स्वीकार्य नहुने बताउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट गृहमन्त्रीले जवाफ दिन्छु भन्दा रोष्ट्रममा जानबाट रोक्ने कार्य कदापी स्वीकार्य नहुने बताउनुभएको हो ।
उहाँले गृहमन्त्री बोल्न तयार हुनुभएकाले उहाँले बोलिसकेपछि विपक्षीलाई चित्त नबुझेका कुरा राख्ने छुट रहेको स्पष्ट पार्नुभयो । तर गृहमन्त्रीलाई बोल्नै नदिनु असंसदीय र गैरराजनीतिक भएको उहाँको टिप्पणी थियो । प्रमुख सचेतक बर्तौलाले जनसरोकारका विषयहरु उठिसकेपछि संसदमा जवाफ दिनु स्वाभाविक प्रक्रिया भएको बताउँदै अवरोध वा नाकाबन्दी लगाउने प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरुको कार्यशैली दुःखद् भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हिजोको संसदको बैठक विशेषगरी गृहमन्त्रीसँग केही प्रश्न गर्नेगरी प्रमुख प्रतिपक्षका कारणले रोकिएको थियो । तर, प्रमुख प्रतिपक्षीले आजको बैठक रोकौं भोलि सहज ढंगले संसद सञ्चालनको वातावरण बनाउँछौं भन्नुभयो । सोही अनुरुप हामीले हिजोको बैठक स्थगित गरेका हौं । आजको बैठकमा हामीले सरकारी बिजनेशमा, प्रस्तावित कार्यसूचीका अन्य कार्यहरुका बारेमा कसरी जाने भन्ने दोस्रो विषय हो । प्रश्न उठीसकेपछि नेपाल सरकारका तर्फबाट माननीय गृहमन्त्रीज्यूले जवाफ दिन्छु । समग्र घटनाका बारेमा संसदमा बताउँछु भनिसकेपछि संसदमा गृहमन्त्री बोल्ने कुरालाई नै अवरोध सिर्जना गरेर सरकारलाई रोष्ट्रममा पुग्ने कुरालाई यसप्रकारको अवरोध वा नाकाबन्दी लगाउने जुन प्रकारको प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीको कार्यशैली दुःखद् छ । यो ढंगबाट संसदलाई अगाडि बढाउने कुरा स्वीकार्य हुनसक्दैन । संसदमा सरकारलाई रोक्ने, जनसरोकारका विषयहरु उठिसकेपछि सम्बोधन गर्ने स्वाभाविक संसदीय प्रक्रिया हो । गृहमन्त्री प्रतिपक्षी दलहरुले उठाएकै विषयमा जवाफ दिन तयार हुनुहुन्छ । उहाँलाई रोक्ने कुरा असंसदीय कुरा हो । यो राजनीतिक विषय होइन । गृहमन्त्रीलाई बोल्न दिनुपर्छ उहाँहरुलाई चित्त बुझ्छ बुझ्दैन त्यसपछिको कुरा हो । फेरि पनि हामी आग्रह गर्न चाहन्छौं, सत्तापक्ष पनि बोलौं, प्रतिपक्ष पनि बोलौं, सरकारले बोल्छु भनेको छ, घटना विषयका बारेमा जवाफ दिन्छु भनेको छ । चित्त बुझेन फेरि आफ्ना कुरा राख्न पाउनुहुन्छ ।’
उहाँले प्रतिपक्षी दलहरुलाई संसद अवरोध नगर्न आग्रह गर्नुभयो ।










