१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने एमालेको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ ।

आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले आम जनसमुदायलाई जेठ १५ गते गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोख्रेलले जानकारी दिनुभयो । उहाँले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गरिने उहाँले बताउनुभयो । महासचिव पोख्रेलका अनुसार काठमाडौं उपत्यकामा उत्सवको आयोजना गर्न नेपाल जन सांस्कृतिक महासङ्घलाई संयोजनको जिम्मा दिइएको र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।

उहाँले भन्नुभयो, “समसामयिक विषयमा केन्द्रित भएको यो बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको छ । त्यसै गरी, पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।  काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि नेपाल जन सांस्कृतिक महासङ्घलाई त्यस कार्यक्रमको संयोजन गर्ने हिसाबले अगाडी बढ्ने र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।” 

महासचिव पोख्रेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा एमालेले जोड दिएको जिकिर गर्नुभयो । उहाँले जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनैपनि गतिविधिहरू एमालेलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । महासचिव पोख्रेलले गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था रहेको बताउँदै त्यसलाई सबल र सुदृढ बनाउने कुरामा एमाले प्रतिवद्ध रहेको दोहो¥याउनु भयो ।
उहाँले भन्नुभयो, “मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको अवस्थामा त्यसलाई सबल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिएको छ । जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनै पनि गतिविधिहरू नेकपा (एमाले)लाई स्वीकार्य छैन । गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था हो । त्यसलाई जनताको अधिकारको रूपमा स्थापित गर्ने काम भएको छ । त्यसलाई अझै सबल र सुदृढ बनाउने कुरामा अगाडी बढ्ने पार्टीको निष्कर्ष छ । गणतन्त्रलाई उत्सवको रूपमा देशव्यापी रूपमा आयोजना गर्न हार्दिक आह्वान गर्दछु ।”  

उहाँले जनताको अधिकारको रक्षा, उपलब्धिहरूको संरक्षण र गणतन्त्र स्थापनालाई जनताको उत्सवको रूपमा मनाउने विषयमा आफूहरूको ध्यान केन्द्रित रहेको बताउनु भयो ।