४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

राजीनामा दिन गृहमन्त्रीमाथि दबाब, नैतिकताको आफ्नै पाठ पर्दैछ भारी

राजीनामा दिन गृहमन्त्रीमाथि दबाब, नैतिकताको आफ्नै पाठ पर्दैछ भारी
अ+ अ-

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा मानव तस्करी गरेकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गृहमन्त्री रमेश लेखक अप्ठ्यारोमा परेका छन् । भिजिट भिसाबाट हुने गरेको मानव तस्करीमा गृहमन्त्रीको सचिवालयका कर्मचारीहरु नै संलग्न रहेको आशंकाका अख्तियारले छानबिन गरिरहेको छ । यसले गृहमन्त्री लेखक नैतिक दबाबमा परेका हुन् ।

गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न दबाब छ । कतिसम्म भने आफ्नै पार्टी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न आग्रह गरेका छन् ।

अख्तियारले बुधबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै अरू केही ठाउँमा छापा मारेको थियो । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा समेत छापा मारेर कागजात र डिजिटल डिभाइस जफत गरेर अनुसन्धान सुरु गरेको हो ।

बिचौलियासँग मिलेर भिजिट भिसाका नाममा सेटिङमा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आशंका अख्तियारको छ । सोही आशंकापछि अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । हाल उनलाई छाडिए पनि यो प्रकरणमा गृह मन्त्रालयकै जिम्मेवार अधिकारीहरुको संलग्नता रहेको आशंकासहित छानबिन चलिरहेको छ । अध्यागमनको सेटिङमा संलग्न कर्मचारी मात्र नभई बिचौलियाको समेत गृहमन्त्री लेखकको सचिवालयसम्म सम्पर्क भेटिएको भन्दै उनीमाथि व्यापक प्रश्न उठाइएको हो ।

लेखकले अध्यागमन कार्यालयका तत्कालीन प्रमुखसुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाए लगत्तै अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको आरोप लाग्दै आएको थियो । सोही विषयमा अख्तियारसम्म उजुरी परेको र अख्तियारले छापा मार्ने सुइँको पाएसँगै हतारहतार गृहमन्त्रीले भट्टराईलाई मंगलबार नै मन्त्रालय तानेका थिए ।

त्यसपछि पनि गृह मन्त्रालयले थप १४ जना कर्मचारीलाई विमानस्थल कार्यालयबाट फिर्ता बोलाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले अहिलेसम्म दुई पटक गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट ९ नायब सुब्बा, चार कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरलाई तानेर अन्यत्र पठाएको हो ।

मानव तस्करी जस्तो गम्भीर अपराधजन्य कार्यमा गृह मन्त्रालय र त्यसकै नेतृत्व जोडिइरहेको बेला सँगसँगै दैनिक ४० लाख रुपैयाँसम्म संकलन भएका समाचारहरू आएका छन् । सो रकम कहाँ–कहाँ पुग्थ्यो र यसमा क–कसको संलग्नता थियो भन्ने सवाल छानबिनपछि प्रस्ट होला नै तर, अहिले नै गृहमन्त्रीको नाम समेत मुछिएको भन्दै उनले राजीनामा दिँदै छानबिनमा सघाउनुपर्ने आवाज उठेको हो ।

संसद् बैठक नबसेकाले संसद्मा यो विषय कसरी अघि बढ्छ भन्ने यकीन छैन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर नेकपा माओवादी केन्द्रका नेताहरु लेखकलाई राजीनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिन थालिसकेका छन् । संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले त औपचारिक निर्णय गरेरै गृहमन्त्रीको राजीनामा माग गरिसकेको छ । राजीनामा नदिए संसद् बैठकमा रास्वपाले यो विषय चर्काउने निश्चित छ । अर्को प्रतिपक्षी दल राप्रपाले त झन् यो विषयलाई संसद्मा मात्र होइन, सडकसम्मै पुर्‍याउने तयारी गरेको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका गृहमन्त्री लेखकका बारेमा अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् । एमाले धेरै जसो नेता पनि मौन छन् । तर कांग्रेसकै शेखर कोइरालाले राजीनामा दिन सुझाइसकेकाले लेखकमाथि थप दबाब परेको छ ।

गृहमन्त्री लेखक भने आफूमाथि प्रश्न उठिरहँदा पनि बचाउमा उत्रिएका छन् । उनले शनिबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको दाबी गरे । उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा, यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु ।’ उनले आफ्नो बचाउ गर्दै संसद्को १३ गते बस्ने बैठकमै यसबारे जानकारी दिने बताएका छन् ।

गृहमन्त्री लेखकले शनिबार नै गृहमन्त्रालयबाट विज्ञप्ति जारी गराउँदै घटनामा गृह नेतृत्व संलग्न नरहेको स्पष्टीकरण दिन लगाए । गृहले भिजिट भिसा प्रकरणको छानबिनमा अख्तियारलाई सहयोग गर्ने बताएको छ । राजीनामाको आवाज ठूलो हुँदै गएपछि गृहमन्त्रीले आफूलाई निर्दोष देखाउन मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै आफू पनि प्रतिकारमा उत्रिएका छन् ।

गृहमन्त्री लेखकले आफ्नो जतिसुकै बचाउ गरे पनि उनलाई विगतमा आफूले भनेका कुरा नै अहिले गर्‍हौं सावित भइरहेका छन् । उनले प्रतिपक्षमा हुँदा संसद्को रोष्ट्रमबाटै नैतिकताको पाठ सिकाएका थिए । अहिले आफैंतिर नैतिकताको प्रश्न उठ्दा भने उनी प्रतिकारमा उत्रिएका छन् ।

नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतकको हैसियतमा लेखकले दिएका अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बहस पनि उनकैका अभिव्यक्तिलाई लिएर भइरहेको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको पूर्ववर्ती सरकारका पालामा कांग्रेसका तत्कालीन प्रमुख सचेतक लेखक संसद्मा नैतिकताको पाठ पढाएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि उनी ‘राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने’ भन्दै संसद्मा कुर्लिएका थिए ।

गृहमन्त्री लेखकले प्रतिनिधिसभा बैठकमा पनि तत्कालीन गृहमन्त्री लामिछानेतर्फ ईंगित गर्दै भनेका थिए, ‘यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको छ कि कुनै पनि माननीय मन्त्री यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदि अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । त्यसकारण गृहमन्त्रीले राजीनामा गर्नुपर्छ ।’

उनले पूर्व अर्थमन्त्री डा. रामशरण महत, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पूर्व अर्थमन्त्री जनार्दन शर्माको नामै लिएर संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई नैतिकता सिकाएका थिए ।

‘यसअघि रामशरण महत अर्थमन्त्री भएका वेला विदेशी बैंकमा खाता छ भन्ने प्रश्न उठ्दा उहाँले राजीनामा दिएको इतिहास यही संसद्मा छ । माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा बोल्दा केही कुरा बिग्रियो, बेठिक बोल्नुभयो भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको इतिहास पनि छ,’ लेखकले भनेका थिए, ‘माननीय गोकुल बाँस्कोटाजीमाथि प्रश्न उठ्दा छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुभएको यसै संसद्को इतिहास हो । पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्यो । उहाँले राजीनामा गर्नुभयो र यहाँ छानबिन समिति गठन भयो ।’

तर, अहिले गृहमन्त्री लेखक आफैँ ‘भिजिट भिसा’ प्रकरणमा मुछिएपछि मन्त्रालयमार्फत् प्रतिकार मात्र गरेनन् आफैंले सञ्चारमाध्यमसामु आफू संलग्न नभएको भन्दै स्पष्टीकरण दिइरहेका छन् । तर आरोप लागेपछि छानबिनमा सहयोग गर्न मार्गप्रसस्त गर्नु भन्दै यसअघि दिएका अभिव्यक्तिलाई चटक्कै भुलेका छन् ।

त्यसो त ‘भिजिट भिसा’ मा जानेहरूबाट करोडौँ रकम उठाएको भनिएको प्रकरणमा मुछिएपछि गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाईंले गृहमन्त्री लेखकलाई बर्खास्त गर्न मागसहित सर्वोच्चमा रिट लगेकी हुन् । उनले लगेको रिट सर्वोच्चले दर्ता भने गरिसकेको छैन । यो रिट दर्ता गर्ने या दरपीठ भन्नेमा सम्भवत: भोलि सर्वोच्च प्रशासनले निर्णय गर्ने छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि गृहमन्त्री लेखकविरुद्ध उजुरी परेको छ । युवराज सफलले शुक्रबार दर्ता गरेको उजुरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’ जारी गरी लाखौं रुपैयाँ असुलेको दावी गरिएको छ । उक्त अवैध असुलीमा गृहमन्त्री लेखकदेखि अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

यसरी गृहमन्त्रीमाथि चौतर्फी दबाब परेको हो । कांग्रेसभित्र सादगी नेताको पहिचान बनाएका लेखक अहिले नराम्रोसँग फसेका छन् । अब यस विषयमा लेखकले संसद्मा के जवाफ दिन्छन्, यसलाई प्रधानमन्त्रीले कसरी लिन्छन भनेर चाहिँ अझै १३ बस्ने संसद्को बैठक कुर्नुपर्ने छ । तर संसद् बैठकमा गृहमन्त्रीले आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिए भने पनि उनीमाथि नैतिक प्रश्न भने उठिरहने छ ।