नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताउनु भयो । उहाँले नागरिकको भरोसा टुटाउनेगरि प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाउनु भयो । दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै आपूm सत्तामा भएको भए जादुगरले जसरी काम गर्छु भनेर भ्रम फैलाइएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘वर्षाको सिजन करिव करिव प्रारम्भ हुन थाल्यो । जेठ एक गते राती हुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ तीलगाउँमा लेदोसहितको पहिरो आयो । सिंगो बस्ती त्रसित भए । गाउँका स्थानीयहरु अहिले चौरमा बस्नुपर्ने अवस्था छ । सरकारसँग आग्रह के छ भने यस्तो प्रकृतिका घटनाहरु देशका अन्य ठाउँहरुमा पनि अब क्रमश क्रमश हुनसक्छ । सरकारको पूर्व सावधानी, पूर्वतयारी प्रभावकारी ढंगबाट हुनुपर्छ । नान्खा गाउँपालिका तीलगाउँका बासिन्दाहरु जसरी अहिले त्रसित अवस्थामा छन् । उहाँहरुको तत्काल उद्दार गर्नुपर्ने, पुर्नस्थापनाका लागि आवश्यक संयोजन गर्नुपर्ने, आवश्यक राहतको व्यवस्था सुनिश्चितता गर्नुपर्ने यसतर्फ सरकारको गम्भीरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । अब कुरा संसदको प्रभावकारिताका बारेमा र संसदको प्रभावकारितामा बारेमा आफ्नो भुमिका के हो भन्नेबारे आफ्नो तर्फबाट समीक्षा गर्ने विषय एकातिर होला ।’

‘त्योभन्दा अलि पर गएर संसदको सामान्यतया तेजोबध गर्ने प्रयत्नमा अभिव्यक्तिहरु प्रस्तुतिहरु आएको हामी पाउँछौं । सबैभन्दा बढी बोल्ने सांसदहरुबाट नै त्यस्ता अभिव्यक्तिहरु आउने गरेको छ । प्रायोजित ढंगबाट राज्यका अंगहरु, राज्यकै महत्वपूर्ण संस्थाहरुमाथि नागरिकको भरोशा टुटाउने, कमजोर बनाउने त्यो बदनियतसाथ प्रायोजित प्रयत्नका आधारबाट पनि यस्ता अभिव्यक्तिहरु आइरहेका छन् भन्नेतर्फ सिंगो सदन यसमा सचेत हुनुपर्छ । र, संसदको समग्र प्रभावकारितामा सिंगो सदन, सबै राजनीतिक पार्टीहरु, सबै संसदीय दलका सदस्यहरु जिम्मेवारी बोधका साथ जिम्मेवार बन्नुपर्छ । वर्तमान समयमा सरकारको सन्दर्भमा बोलिने अभिव्यक्तिहरु हामी हेर्छौं । निराशाको सञ्चार संसदबाटै गरिएको छ । संसदको तेजोबध गर्नेगरि संसदबाटै निरश अभिव्यक्तिहरु आउने गरेका छन् ।’

उहाँले जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकालेजस्तै जादुवाला नम्बर भएकाहरुबाट यस्ता अभिव्यक्ति सुनिरहेको भन्दै त्यो क्षणिक भ्रम भएको स्पष्ट पार्नुभयो ।