काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रश्ताव गर्नुभएको छ ।
हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रश्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न आग्रह गर्नुभएको हो ।
उहाँले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गर्नुभयो । उहाँले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बतउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने । गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ । १५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसोभए संशोधन गरियोस् । सरकारलाई त भन्छु नै सभामुख महोदयलाई पनि आग्रह गर्दछुःकिनभने यो संसदको विषयमा पनि पर्छ । अरु विषयमा संशोधन नभए पनि संविधानमा संशोधन गर्ने दुई दलको समझदारी पनि भएको छ ।’
सांसद निधीले संसदको विषय भएकाले पनि संसदम विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।









