६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका मेयर बालेन समस्याको थुप्रोमा फस्दै, पूर्वसचिव मैनालीले दिए सुझावै सुझाव



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह समस्याको थुप्रोमा फस्दै गएको भन्दै पूर्वसचिव श्यामप्रसाद मैनालीले केही सुझाव दिएका छन् ।

पूर्वसचिव मैनालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै बालेन समस्या समाधान गर्न चुक्दै गएको बताएका छन् । उनले समस्या पहिचान गरेर समाधान नगरे थप समस्या बढिरहने चेतावनी दिएका छन् ।

उनले असल सल्लाहकार राखेर परिपक्व ढंगले महानगरपालिका हाँक्नसमेत भनेका छन् ।

मैनालीले बालेनलाई के दिएका छन् त सुझाव ?

काठमाडौँका मेयर बालेन समस्याको थुप्रोमा फस्दै गए । उनी दिन प्रतिदिन अप्ठ्यारोमा पर्न थाले । तसर्थ मेयर साहबलाई देहाय अनुसार सुधार गर्न अनुरोध गर्दछु ।

काठमाडौँका जल्दाबल्दा समस्याका बारेमा सम्बन्धित पक्षहरूसँग बसेर छलफल गर्न प्रारम्भ गर्नुहोस् । जनप्रतिनिधि जनताको मानिस हुने भएकाले जनतासँग साक्षात्कार बाक्लो गर्दै जानुस् । नगरवासी हरूलाई भेट दिनुहोस् । उनीहरूको समस्या सुनिदिनुहोस् । उपयुक्त समस्याको समाधान गरिदिनुहोस् ।

प्रमुख प्रशासकीय अधिकृतको मुद्दामा संघीय सरकारले तपाईँलाई असहयोग गर्दा यो समस्याबाट आफू उम्कने प्रयास तपाईंबाट खासै भएन । लामो समयसम्म आर्थिक कारोबार ठप्प रह्यो । यसले गर्दा तपाईँलाई समर्थन गर्ने कर्मचारीहरू पनि रुष्ट भए । जनप्रतिनिधि हरुले दलीय निर्देशनका आधारमा तपाईंका कमी कमजोरीमा खेल्ने मौका पाए । त्यो अवस्था प्रष्ट देख्दा देख्दै समस्या समाधानमा प्रष्ट देखिने गरी तपाईंको प्रयास भएन । यसैमा दलका अध्यक्षहरु र उपमेयरले तपाईलाई घेराबन्दी प्रारम्भ गरे । यसको निरन्तरता अझै भइराखेको छ । यसलाई यथा समयमा समाधान गर्न सक्नुपर्दथ्यो । मेयर साहब यसमा चुक्नुभयो ।

अब भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत बसेको अफिसमा नजाने निर्णय मेयर साहबले लिनु भएको कुरा बाहिर आइराखेको छ । लामो समयदेखि बोर्डको बैठकसम्म पनि हुन सकिराखेको छैन । उपमेयरले यसैमा खेल्न थालेकी छिन् । तपाईँ निश्चिन्त भएर नबस्नुस् । बैठक बोलाउनुस् । छलफल गर्नुस् । कुराहरु राफसाफ हुँदै जाँदा दलका निर्देशनमा काम गर्नेहरु पनि सोच्न बाध्य हुन्छन् । यसमा तपाईंको ध्यान जानु जरुरी छ ।

काठमाडौँ महानगरपालिकाको मेयर अत्यन्त संवेदनशील र जिम्मेवारी प्राप्त महत्वपूर्ण पदाधिकारी हुन्छ । आफ्ना कार्यशैली र अभिव्यक्तिले समस्याको समाधान पनि गर्दछ। समस्या सिर्जना पनि हुँदै जानेछन् । त्यसैले परिपक्व बन्नुहोस् । असल सल्लाहकार राखेर महानगरपालिका हाँक्नुहोस्। आफ्ना सचिवालय लगायतका कर्मचारी हरुलाई सहयोगी एवं शुभचिन्तक हरुलाई पनि विवादास्पद अभिव्यक्ति नदिन निर्देशन गर्नुस् ।

यी सबै परिस्थितिलाई नजरअन्दाज गरेर बस्दा भोलिका दिनहरूमा मेयर साहब अझै ठूलो समस्यामा फस्नुहुने निश्चित छ । त्यसैले बेलैमा गम्भीर बन्नु पर्दछ । यो मेरो मेयर साहबलाई व्यक्तिगत सुझाव हो । तपाईँले काठमाडौँ महानगरपालिकामा गर्नुभएका केही कामहरू बाट म प्रभावित भएको छु । स्वतन्त्र प्रतिनिधि हरूले पुराना दल हरुलाई करेक्सन गर्न दबाब सिर्जना गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । स्वतन्त्रहरू सबैलाई अप्ठेरोमा पारी असफल बनाए पश्चात नेपाली मतदाताहरुले पनि तपाईलाई नकारात्मक हिसाबले सोच्न सक्दछन्, नतिजामा देखिने गरी राम्रा कामहरु हुन सकेनन् भने असहज अवस्था बन्न सक्दछ । आगे मेयर साबको मर्जी ।