१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

नेकपा भित्र महाधिवेशनको चर्चा, दाहाललाई जबज अमान्य

नेकपा भित्र महाधिवेशनको चर्चा, दाहाललाई जबज अमान्य
अ अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको चर्चा चलेसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद (जबज) मान्य नहुने संकेत गरेका छन्। आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेताहरूबीच सहमति खोज्ने क्रममा साउन ३ गते बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने र नेतृत्व टुंगो लगाउने प्रस्ताव गरेसँगै जबजको बहस सुरु भएको छ।

स्थायी कमिटी बैठक जारी रहेकै बेला शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढेपछि सो बैठक स्थगित गरी सचिवालय बैठक डाकिएको थियो। सचिवालय बैठकमा ओलीले राखेको महाधिवेशनसम्बन्धी प्रस्तावलाई दाहालले स्वीकार गरेका थिए। सचिवालय बैठक सकेर दाहाललाई लिएर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। राष्ट्रपति कार्यालयमा ओलीले ‘महाधिवेशन गरौं, तपार्इंले जबजको नेतृत्व गर्नुस्’ भनेपछि जवाफमा दाहालले सर्वसम्मतिबाट आफू एकल अध्यक्ष हुन खोजेको र त्यसका लागि ओलीले ग्यारेन्टी गर्नुपर्ने बताएका थिए। ओलीले त्यसको ग्यारेन्टी नदिएपछि राष्ट्रपति कार्यालयबाट फर्केका दाहालले कुरा नमिलेको सन्देश आफ्नो सचिवालयबाट सम्प्रेषण गराएका थिए।  

राष्ट्रपति कार्यालयबाट फर्केको अर्को दिन साउन ४ गते दाहालले खुमलटारमा वरिष्ठ नेता माधव नेपालसहित भएको छलफलमा अहिले नै कुरा नमिलेको र नेपाल पक्षको सहमतिमै आफू अगाडि बढ्ने बताएका थिए। ओली–दाहाल मिलेको आशंका गरेका नेपालले त्यस दिन ‘मंसिरमा महाधिवेशन हुन नसक्ने तर तपाईंहरू गर्न तयार हुनुहुन्छ भने लिखित रूपैमा माइन्युट गरौं र त्यसका लागि व्यक्ति–व्यक्तिको कुरा होइन, विचार र सिद्धान्तको पनि बहस हुनुपर्छ, जबजको बहसलाई पनि खुला गरौं’ भनेपछि दाहाल झस्केका थिए। नेपालले आफू जबजकै पक्षधर रहेको बताएपछि दाहालले ५ गते पूर्वमाओवादी नेताहरूको भेला गरेका थिए। सो भेलामा दाहालले पूर्वएमालेहरू सिद्धान्त र विचारमा एक ठाउँमा रहेकाले पूर्वमाओवादीहरू पनि विभाजित हुन नहुने धारणा राखेका थिए।  

‘खुमलटार भेलामा माधव नेपालले आफू जबज पक्षधर रहेको र महाधिवेशनका लागि यो बहस खुला गरौं भन्ने प्रस्ताव गरेपछि दाहालले आफू एक्लो हुने महसुस गरेका छन्,’ साउन ५ गते खुमलटार भेलामा पुगेका पूर्वमाओवादीका एक नेताले भने। ती नेताका अनुसार दाहाल एकल अध्यक्ष हुने अवस्थामा जबजलाई पनि मानेर जान सकिने मनस्थितिसहित ओलीसँगै राष्ट्रपति कार्यालय पुगेका थिए। तर, त्यहाँ ओलीले एकल अध्यक्षका लागि कुनै ग्यारेन्टी दिन नसकिने बताएपछि दाहाल बिच्किएका हुन्। पार्टी एकताका बेला यसको जग जबज हुने मानिएको छ।  

पार्टीको एकता घोषणा हुनुभन्दा चार महिनाअघि २०७४ फागुन पहिलो साता खुमलटारस्थित शारदाप्रसाद अधिकारीको घरमा बसेको बैठकमा माधव नेपालले पार्टीको राजनीतिक प्रतिवेदनमै जबज राखेर अघि बढौं भनेका थिए। तर, दाहालले नमानेपछि नेपालले ‘जबजलाई एकता प्रक्रियापछि हुने महाधिवेशनसम्म थाती राखौं र त्यतिन्जेल जनताको जनवाद भनौं’ भन्ने प्रस्ताव गरेका थिए। त्यसबेला लेनिन जयन्ती (२०७५ अप्रिल २२) का दिन पार्टी एकीकरण गर्ने कार्यतालिका बनेको थियो। तर, दाहालकै जोडबलमा २०७५ जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस पारेर पार्टी एकता घोषणा गरिएको थियो। ‘दाहालले पूर्वएमालेहरूको मनोभावनालाई पनि समेट्न मदन भण्डारीको धेरैपटक नाम लिनुभएको छ, जसले गर्दा अबको नेतृत्व मैले नै गर्नुपर्छ भन्ने उहाँको धारणा होजस्तो लाग्छ,’ नेकपा स्थायी कमिटीमा रहेका पूर्वएमाले खेमाका एक नेताले भने, ‘महाधिवेशनमा हुने बहस र छलफलले कसलाई कहाँ पुर्याउँछ भन्ने थाहा हुँदैन।’

दाहालले शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित सार्वजनिक कार्यक्रममा पनि जबज आफूलाई मान्य नहुने संकेत गरेका थिए। जबजलाई परिष्कृत गर्ने भन्दै उनले पार्टी अध्यक्ष हुन वा प्रधानमन्त्री हुन आफू पहिला एमाले हुनुपर्ने होइन, आफू नेकपा नै हो भन्दै जबज स्वीकार्य नभएको संकेत गरेका थिए। ‘हामी समाजवादी क्रान्तिको चरणमा छौं, जसको नीति उसको नेतृत्व भन्ने थियो तर नीति र नेतृत्व अहिलेको अवस्थामा उपयुक्त नभएकाले विवद आएको हो,’ दाहालले पुष्पलाल र केशरजंग रायमाझीको उदाहरण दिँदै जबजभन्दा अघि बढिसकेको संकेत गरेका थिए।  

‘१४ देखि २० माघ २०४९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय महाधिवेशनले नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको कार्यक्रम पारित गर्यो, नेकपा एमालेले कहिल्यै पछाडि फर्कनुपरेन। तत्कालीन महासचिव जननेता मदन भण्डारीले अघि सारेको त्यो कार्यक्रम नेकपा एमालेको मार्गदर्शक सिद्धान्त मात्र होइन, सिंगो राष्ट्रको मार्गनिर्देशक सिद्धान्त बन्यो। त्यसैको बलमा मुलुकमा अहिले कम्युनिस्ट पार्टी नेतृत्वको सरकार छ,’ नेता नेपालनिकट स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार अहिलेको उपलब्धि ‘जनताको बहुदलीय जनवाद’ को बलमा सम्भव भएको तर यो विचार एकता महाधिवेशनसम्म स्थगित गरिएको हो। ‘पार्टी एकताको बाध्यात्मक परिस्थितिले यसो गर्नु परे अबको महाधिवेशनले जबजलाई नै मार्गनिर्देशक सिद्धान्त मान्नुपर्छ। त्यसअघि हुने बहसलाई कसैले अस्वीकार गर्नुहुँदैन,’ ती सदस्यले भने।  

तर पार्टी एकताका बेला राजनीतिक प्रतिवेदन बनाउने कमिटीका सदस्यसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल ९पूर्वमाओवादी खेमा० जनताको बहुदलीय जनवाद तत्कालका लागि स्थागित गरिएको विषय भएको बताउँछन्। ‘जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद दुवै कार्यक्रम आफ्नो कालखण्डमा राम्रा थिए। फरकफरक कोणबाट व्याख्या भए पनि आफ्नो कालखण्ड यी दुवै विचार राम्रा हुन्। तर, अहिले भने जनताको जनवाद नेकपाको साझा धारणा हो। अब पार्टीले तय गरेको साझा धारणा र कार्यक्रमअनुसार अघि बढ्नुपर्छ,’ पौडेलले भने। उनका अनुसार अहिलेको अवस्थामा समाजवादमा पुग्नका लागि जनताको जनवाद नै साझा धारणा भएकाले यसलाई अघि बढाउनुपर्छ। ‘व्यक्तिगत रूपमा मदन भण्डारी र उहाँले ल्याएको कार्यक्रम बहुदलीय जनवाद राम्रो हो। हामी त्यसको विरोधी होइनौं तर समाजवादमा पुग्न दुवै पार्टीले एकीकरणका बेला बनाएको साझा धारणामा सबै केन्द्रित हुनुपर्छ। विगतमा हामीले प्रचण्डपथ पनि बनायौं, एक्काइसौ शताब्दीको जनवाद पनि भन्यौ तर अहिले भने ती सबै छाडेर जनताको जनवादमा आएका छौं। समाजवादमा पुग्ने बाटो पनि यही हो,’ उनले भने।  

नेकपा केन्द्रीय सदस्य एवं पुष्पलाल मित्रता केन्द्रका संयोजक जगन्नाथ खतिवडा भने तत्काललाई जबज स्थगित भएकाले अहिले बहस गर्ने बेला नभएको बताउँछन्। ‘जबजलाई देखाएर पूर्वएमाले मिल्ने भन्ने हो भनेर पूर्वमाओवादीलाई पन्छाउने होइन, अब सैद्धान्तिक बहसमा दुवै पक्ष लाग्नुपर्छ। तत्कालका लागि जबज स्थागित भएको छ, महाधिवेशन आएपछि विभिन्न पक्षमा बहस हुन्छ। अन्तिम टुंगो महाधिवेशनले लगाउँछ,’ खतिवडाले भने, ‘जबजको सही प्रयोग गर्नुपर्छ। एकताको आधारभूमि त्यही हो भन्ने कुरा प्रस्ट छ।’ नागरिक दैनिक