काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । सरकार अप्ठ्यारोमा परेको भन्ने हल्ला गलत भएको संयन्त्रले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको बताए । ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको उनको भनाइ थियो ।
सरकारका बारेमा केही नेताहरूले बोलेको कुरा ‘व्यक्तिगत कुरा’ भएकोले टिप्पणी गर्न आवश्यक नभएको उनको भनाइ थियो । उनले दुई शीर्ष नेतासहित कार्यदल र संयन्त्रको नियमित बैठक बसेको बसेको स्पष्ट पारे ।
सरकारको कामलाई अहिले नै दोष दिने बेला नभएको पनि गृहमन्त्री लेखकको भनाइ छ । विद्यालय शिक्षा विधेयकलाई कसरी अगाडि बढाउने र पास गराउने विषयमा सरकार गम्भीर भएको उनले बताए । यो अधिवेशन विद्यालय शिक्षा विधेयक टुंगो लगाउने गरी केन्द्रित हुने उनले स्पष्ट पारे ।
सरकारका काम र कार्यशैलीबारे सत्तासाझेदार दल कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै विरोध गर्दै आएका बेला कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो । बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी भएनन् । नेता खड्का स्वास्थ्यका कारण र महामन्त्री थापा उपत्यका बाहिरबाट काठमाडौँ आउन ढिला भएकोले बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
बैठकका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।










