१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्लाज्मा थेरापीले जगायो आशा

प्लाज्मा थेरापीले  जगायो आशा
अ अ+ अ-

काठमाडौँ । मुलुकमा पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट सफलतापूर्वक उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्यमा प्लाज्मा थेरापीपछि उल्लेखनीय सुधार देखिएको छ । पेसाले चिकित्सक रहेका ६० वर्षीय ती संक्रमितमा गत बिहीबार राति प्लाज्मा दिएर उपचार गरिएको हो ।

शिक्षण अस्पतालको कोभिड व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा।सन्तकुमार दासले प्लाज्मा थेरापीको ४८ घण्टापछि बिरामीको एक्स–रे प्रतिवेदनमा निमोनियामा करिब ७० प्रतिशत सुधार देखिएको जानकारी दिए । ‘यस्तै स्थिति रहे एक–दुई दिनमा बिरामीलाई आईसीयूबाट बाहिर निकाल्छौं,’ उनले भने ।

ती बिरामी ९ दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट रेफर गरिएर शिक्षण अस्पतालमा आएका थिए । अस्पताल आउँदा बिरामीमा बाइल्याटरल निमोनिया (दुवै फोक्सोमा संक्रमण) देखिएको थियो । अस्पतालमा विशिष्ट उपचारअन्तर्गत डेक्सामिथासोन थेरापी र एन्टिभाइरल औषधि रेम डेसिभिर सुरु गरिएको थियो । ‘रेम डेसिभिर नेपालमा उपलब्ध नभएकाले भारतबाट मगाइयो, तर उपचार दिएको पाँच दिनपछि समेत खासै सुधार भएन,’ डा। दासले भने ।

विशिष्ट उपचारबाट कुनै सुधार नदेखिएपछि कोभिड व्यवस्थापन समितिले प्लाज्मा थेरापी गर्ने निर्णय गरेको थियो । अस्पतालका स्वास्थ्यकर्मीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर बिरामीको उपचारमा उपयोग हुने प्लाज्माको व्यवस्था गरिएको थियो । ‘हामीले कोरोना निको भइसकेका व्यक्तिबाट एक पिन्ट रगत लिएर त्यसबाट करिब २०० मिलिलिटर प्लाज्मा निकाल्यौं,’ डा।दासले भने, ‘गत बिहीबार राति ९ बजे बिरामीलाई प्लाज्मा ट्रान्सफ्युजन (चढाउन) सुरु गरेका थियौं । करिब दुई घण्टामा यो प्रक्रिया सकियो ।’

डा। दासका अनुसार बिरामीलाई अन्य पुरानो उपचार पनि जारी राखिएको थियो । प्लाज्मा थेरापी दिएको अर्को दिन बिरामीमा सुधारको लक्षण देखिन थाल्यो । पहिले बिरामीलाई अक्सिजनको आवश्यकता ८०–९० प्रतिशत भए पनि प्लाज्मा थेरापीपछि घट्दै गएर हाल २४–२८ प्रतिशत मात्र अक्सिजन चाहिएको छ । प्लाज्मा थेरापीको दोस्रो दिन बिरामीमा देखिएको निमोनियामा समेत करिब ७० प्रतिशत सुधार भएको छ । ‘उहाँ (बिरामी) आफै हिँडडुल गर्न सक्नुहुन्छ,’ डा। दासले भने, ‘उहाँको श्वासको गति सामान्य छ अर्थात् प्रतिमिनेट १६ देखि १८ पटकसम्म सास फेर्नुहुन्छ ।’

उपचारमा संलग्न चिकित्सकहरूले प्लाज्मा थेरापीबाट यति छिटो र बढी सुधारको आशासमेत गरेका थिएनन् । प्लाज्मा थेरापी नगरिएको भए भेन्टिलेटर आवश्यक पर्न सक्ने अवस्थामा बिरामी थिए । डा।दासले एक–दुई दिनमा बिरामीलाई आईसीयूबाट बाहिर निकालेर पुनः पीसीआर परीक्षण गर्ने र नतिजानेगेटिभ आए घर पठाइने बताए ।

त्रिवि, शिक्षण अस्पतालका चिकित्सकहरूले अर्को बिरामीमा समेत प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरेका छन् । ती संक्रमित ३० वर्षका छन् । उनलाई समेत बाइल्याटरल निमोनिया देखिएको छ । दुई दिनअघि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित वीरगन्जबाट रेफर भएर उनी शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी सुरु भए पनि देशभरका १२ वटा निजी र सरकारी अस्पताल कन्भलेसेन्ट प्लाज्मा थेरापी सुरु गर्न तम्तयार अवस्थामा रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनका अनुसार धुलिखेल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ग्रान्डी इन्टरनेसनल, मेडिसिटी, ह्याम्स अस्पताल प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा छन् । कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगन्ज अस्पताल, सेती अस्पतालमा समेत जुनसुकै बेला प्लाज्मा थेरापी सुरु गर्न सकिने डा. ज्ञवालीले बताए ।

यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ ।

प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।

प्लाज्मा थेरापी सय वर्षभन्दा बढी समयदेखि विभिन्न भाइरल रोगमा सफलतापूर्वक प्रयोग गरिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्घतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिए ।

कोभिडको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा खोजिएको थियो । डा. अधिकारीका अनुसार भारतसहित अन्य केही मुलुकमा यो थेरापीको उत्साहजनक परिणाम देखिएको छ । कोभिड–१९ विरुद्घ प्रभावकारी खोप नबनेसम्म प्लाज्मा थेरापी कोरोना भाइरसका जटिल बिरामीका लागि प्रभावकारी उपचार हुन सक्ने विज्ञहरूले बताएका छन् । यसअघि सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स), स्वाइन फ्लुलगायत थुप्रै रोगको उपचारमा प्लाज्मा थेरापीको उपयोग भइसकेको छ ।

कोरोना जितेकाहरूले एक पटकभन्दा बढी प्लाज्मा दान गर्न सक्छन् । सातामा दुई पटकसम्म प्लाज्मा दान गर्न सकिन्छ । एक जनाले ४ सय मिलिलिटर दान गर्न सक्छन् । कोरोना निको भएका एक व्यक्तिको प्लाज्माले दुई जना संक्रमित निको हुन उपयोगी हुन्छ । एक व्यक्तिको उपचारमा २ सय मिलिलिटर प्लाज्मा पर्याप्त हुन्छ । कोरोना संक्रमण निको भएको १४ दिनपछि प्लाज्मा दिन सकिन्छ । खोपको दाँजोमा प्लाज्मा थेरापीद्वारा दिइएको सुरक्षा अस्थायी हुनेसमेत डा। अधिकारी बताउँछन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।