२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीरामको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी, २०८१ को आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गर्नुभयो भन्ने ग्रहणयोग्य सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित हुनुभएको उल्लेख गर्दै उहाँले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिङ्गो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिनुभएको छ ।

“श्रीरामझैँ हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ । उहाँको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्न सक्नुपर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

उपराष्ट्रपतिले रामनवमीका अवसरमा गरिने भजन, कीर्तन र उपासना आमनागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको उल्लेख गर्नुभएको छ ।

“हाम्रा पर्वहरू सद्भावना, जनकल्याण, नैतिकता र सद्चरित्रको अङ्कुरण गराउने माध्यम पनि भएकाले यसलाई सद्भक्ति, अध्यात्मिकता र नैतिकताको सेतुबन्धको रूपमा उपयोग गर्दै यसमार्फत देश र समाजमा शान्ति, मङ्गल र कल्याणका भावनाहरू जागृत गर्ने प्रयासहरूलाई उत्प्रेरित गर्ने अचूक सूत्रका रूपमा आत्मसात् गर्न जरुरी छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

उपराष्ट्रपति यादवले मानवकल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अङ्गीकार गर्दै अघि बढ्नु आजको आवश्यकता भएकामा जोड दिनुभएको छ । “रामनवमी उत्सवमात्र होइन, हामीले आफ्नो जीवनलाई श्रीरामको आदर्शहरूसँग जोड्ने एउटा मङ्गलमय अवसर पनि हो”, उहाँले भन्नुभएको छ, “यस अवसरमा श्रीरामझैँ असल र मर्यादित सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा प्राप्त होस् ।”